डडेल्धुरा- नेपाली कांग्रेस (विपी) जिल्ला कार्य समिति डडेल्धुराले डडेल्धुरा अस्पतालमा कर्मचारी भर्ना प्रक्रियामा पुनः राजनीतिक हस्तक्षेप र अनियमितता हुन सक्ने आशंका व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ।
मंसिर १५ गते अस्पतालले विभिन्न पदका लागि विज्ञापन सार्वजनिक गरेपछि फेरि दलका कार्यकर्ता भर्ती र आर्थिक चलखेल हुने हो कि भन्ने गम्भीर शंका उठेको भन्दै पार्टीले आपत्ति जनाएको हो।
ज्ञापन पत्रमा भनिएको छ, “डडेल्धुरा अस्पताल डडेल्धुराको मात्रै नभई सुदुरपश्चिमको प्रमुख स्वास्थ्य संस्था हो। तर विगतका वर्षहरूमा अस्पतालभित्र व्यापक भ्रष्टाचार, कर्मचारी भर्नामा राजनीतिक हस्तक्षेप र बदनियतपूर्ण गतिविधिले अस्पतालमाथि नागरिकको भरोसा कमजोर बनाएको छ।”
कांग्रेस (विपी) ले अस्पतालको इतिहास, पार्टी तथा समाजका नेता–कार्यकर्ता, पत्रकार र डा. गोविन्द केसीको सत्याग्रहसम्मको भूमिका जनाउँदै यो संस्थालाई भ्रष्टाचार र ‘कार्यकर्ता पुरसाहन केन्द्र’ जस्तो देखाउने प्रयास अस्वीकार्य रहेको उल्लेख गरेको छ।

अस्पतालले नयाँ विज्ञापनमा केवल अन्तर्वार्तालाई आधार मान्ने तयारी गरेको उल्लेख गर्दै कांग्रेस (विपी) ले यसलाई “स्वच्छ प्रतिस्पर्धामाथि प्रहार” र “पुनः कार्यकर्ता तथा नातावादी नियुक्तिको जालो” भनी व्याख्या गरेको छ। “अन्तरवार्ता मात्रै मापदण्ड बनाएर भर्ना गर्दा आर्थिक चलखेल र राजनीतिक प्रभाव बढ्ने प्रष्ट संकेत देखिएको छ,” ज्ञापनमा भनिएको छ।
पार्टीले अस्पतालमा आवश्यक जनशक्ति भर्ना गर्ने कार्यलाई स्वागतयोग्य माने पनि अनियमित र पूर्वाग्रही तरिकाले भर्ना गरिए कडा प्रतिवादमा उत्रिने चेतावनी दिएको छ। “स्वच्छ र निष्पक्ष प्रक्रियाबिना कुनै पनि विभेदपूर्ण वा बदनियतपूर्ण कदम सैह्य नहुनेछ,” कांग्रेस (विपी) ले चेतावनी दिएको छ।
ज्ञापन पत्र डडेल्धुरा कांग्रेस (वि.पी.) का सभापति भरत नेपालीले प्रमुख जिल्ला अधिकारीमार्फत स्वास्थ्य संस्थासम्बन्धी सरोकारवाला निकायहरूको ध्यानाकर्षण गराउँदै बुझाएका हुन्।
उक्त पत्र अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझालाई पनि बुझाइएको थियो ।







