बाजुरा- बाजुराको बडीमालिका नगरपालिका–४, रिला क्षेत्रमा भाइरल ज्वरोको प्रकोप तीव्र बन्दै गएको छ। करिब १८० घरपरिवारमा ज्वरोका बिरामी देखिनुका साथै चिसो बढेसँगै संक्रमितको संख्या दिनदिनै बढ्दै गएको स्थानीयले बताएका छन्।
घर–घरमा भाइरल संक्रमण फैलिँदा पाथरकोट आधारभूत विद्यालयमा विद्यार्थीको उपस्थिति उल्लेख्य रूपमा घटेको छ। कक्षा ५ मा अध्ययनरत आरती कुमारी परीका अनुसार केही दिनदेखि रुघाखोकी, टाउको दुखाइ, ज्वरो र उल्टीजस्ता लक्षण देखिरहेका छन्। बिरामी भए पनि पढाइ छुट्ने डरले विद्यालय आएकी आरतीले कक्षामा बस्नसमेत कठिनाइ हुने बताइन्।
गाउँमा पछिल्ला एक महिनादेखि धेरैजना बिरामी परिरहेका छन्, जसको प्रत्यक्ष असर विद्यालयको कक्षा उपस्थिति दरमा परेको शिक्षक कमल नाथले जानकारी दिए। उनका अनुसार विद्यालयमा ९३ विद्यार्थीमध्ये अहिले धेरै कक्षा कोठा सूनसान छ। बालबालिकामा खोकी, ज्वरो, वाकवाकीजस्ता लक्षण तीव्र रूपमा देखिन थालेको उनले बताए।
हिउँद सुरु भएसँगै रुग्हाखोकी र भाइरल संक्रमण बढिरहेको र रिला सहरी स्वास्थ्य केन्द्रमा दैनिक पाँचदेखि सात बिरामी उपचारका लागि आउने गरेको केन्द्रका प्रमुख मीनबहादुर थापाले जानकारी दिए। उनका अनुसार आवश्यक औषधि दिएपछि केही बिरामीमा सुधार देखिन थालेको छ।









