
काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को नेपाल कार्यालयले सिंहदरबारभित्र निर्माण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नयाँ प्रिफ्याब भवन औपचारिक रूपमा हस्तान्तरण गरिएको छ।
सिंहदरबारको दक्षिण–पश्चिम क्षेत्रमा डब्लुएचओको सहयोगमा बनेका प्रिफ्याब संरचना बुधवार मन्त्रालयलाई बुझाइएकाे हाे। एक कार्यक्रमकाबीच स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम तथा मन्त्रालयका अधिकारीहरूलाई डब्लुएचओले भवन हस्तान्तरण गरेको हो।
भवन हस्तान्तरणसँगै रामशाहपथस्थित पुरानो मन्त्रालयबाट आजदेखि नै सराइ प्रक्रिया सुरू भएको प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए। उनका अनुसार आइतबारसम्ममा मन्त्रालयका अधिकांश सेवा–सुविधा सिंहदरबारभित्रैबाट सञ्चालन हुनेछन्।

उनका अनुसार सो क्षेत्रमा सेनाका केही पुराना भवन पनि रहेका छन्। जसमा केहीमा मर्मत सम्पन्न भइसकेको छ भने बाँकी संरचनाको मर्मत कार्य भइरहेको छ।
गत भदौ २४ गते जेनजी आन्दोलनको क्रममा रामशाहपथस्थित स्वास्थ्य मन्त्रालयसहित सिंहदरबार र संसद् भवनमा आगजनी हुँदा मन्त्रालय पूर्ण रूपमा क्षतिग्रस्त भएको थियो। त्यसपछि अस्थायी रूपमा मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषदको नयाँ भवनमा सरेको थियो।
अब भने मन्त्रालयलाई स्थायी रूपमा सिंहदरबारभित्र राख्ने गरी काम अघि बढेको प्रवक्ता बुढाथोकीले जानकारी दिए।


