
सप्तरी- सप्तरीको छिन्नमस्ता गाउँपालिका–५, लोखरम मुसहर बस्तीमा फैलिएको हैजा पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन। बस्ती नजिकै बग्ने भलुवाही खोला र स्थानीय पोखरीको पानी नै हैजाको मुख्य स्राेत भएको पुष्टि भएको छ।
हैजाका कारण एकै परिवारका दुई बालबालिका सहित तीन जनाको मृत्यु भएपछि स्थानीय तहले स्वास्थ्य कार्यालयसँग समन्वय गरी ७ वटा पानीका नमुना परीक्षण गराएको थियो। परीक्षणमा भलुवाही खोलाको पानी र पोखरीमा हैजाको जीवाणु भेटिएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख दिपेन्द्र यादवले बताए।
यादवका अनुसार जोखिमपूर्ण स्रोतको पानी प्रयोग नगर्न जनचेतना फैलाउन तथा निगरानी गर्न बस्तीमा स्वयंसेवक परिचालन गरिएको छ।
बस्तीमा हाल १४ जना झाडापखालासँग सम्बन्धित बिरामीको घरमै उपचार भइरहेको उपचारमा संलग्न डा. आनन्द सिंहले जानकारी दिए। उनका अनुसार स्वास्थ्यकर्मीले उपचारसँगै आवश्यक औषधि वितरण गरिरहेका छन्। यसअघि ५३ जना बिरामी उपचारपछि घर फर्किसकेका छन्।
पालिका अध्यक्ष विद्यानन्द चौधरीका अनुसार गैरसरकारी संस्थाहरूको सहयोगमा निरन्तर सरसफाइ भइरहेको छ। समुदायमा जनचेतना अभिवृद्धि गर्न ३० वटा पानी फिल्टर समेत वितरण गरिएको छ।


