सप्तरी- सप्तरीको छिन्नमस्ता गाउँपालिका–५, लोखरमस्थित मुसहर टोलमा फैलिएको झाडापखाला नियन्त्रणका लागि स्थानीय तहले सक्रिय रूपमा काम गरिरहेको छ। छिन्नमस्ता गाउँपालिकाको स्वास्थ्य शाखाले रोग नियन्त्रण उन्मुख अवस्थामा रहेको जनाएको हो।

स्वास्थ्य शाखा प्रमुख दीपेन्द्र यादवका अनुसार प्रभावित ३२ जनामध्ये २६ जनाको स्वास्थ्य राम्रो भइसकेको छ भने बाँकी ६ जनाको उपचार जारी छ। उनीहरूको अवस्था पनि सुधारतर्फ रहेको उनले जानकारी दिए।

झाडापखालाबाट प्रभावित व्यक्तिहरूको दिसा परीक्षण गर्दा ११ जनामध्ये पाँच जनामा संक्रमण पुष्टि भएको छ। केही दिनअघि सोही बस्तीमा एकै परिवारका तीन जनाको झाडापखालाका कारण मृत्यु भएको थियो।
मुसहर बस्तीमा खानेपानी, सरसफाइ र शौचालयको अवस्था अत्यन्त कमजोर रहेको अधिकारीहरूले बताएका छन्। अधिकांश परिवार खुला स्थानमा शौचालय गर्छन् भने एक मात्र चापाकलमा करीब ५० घरपरिवार निर्भर छन्। यस्तै, फोहोर व्यवस्थापनसमेत चुनौतीपूर्ण रहेको स्थानीयले बताएका छन्।







