कैलाली- सुदूरपश्चिम प्रदेशमा एक हजार ३६२ जना एचआईभी संक्रमित रहेको तथ्यांक सार्वजनिक भएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार पछिल्लो पाँच वर्षमा तीन लाख ५६ हजार ५५१ जनाको परीक्षण गर्दा उनीहरूमा एचआईभी संक्रमण पुष्टि भएको हो।
२०७६/७७ आर्थिक वर्षमा १४ हजार ३९८ जनाको परीक्षणमा २८८ जनामा संक्रमण भेटिएको थियो। त्यस्तै २०७७/७८ मा ४० हजार ४४४ जना परीक्षण हुँदा २७९ जनामा संक्रमण पुष्टि भयो।
२०७८/७९ मा ९१ हजार ४४ जनामध्ये ३२५ जनामा संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ। २०७९/८० मा १ लाख ४४ हजार ६४७ जनालाई परीक्षण गर्दा २५२ जनामा संक्रमण भेटिएको थियो। यस्तै २०८०/८१ मा ६६ हजार १८ जनाको परीक्षण गर्दा २१८ जनामा एचआईभी संक्रमण पाइएको सूचना अधिकारी धर्मानन्द गिरीले जानकारी दिए।

सुदूरपश्चिमका धेरै नागरिक रोजगारीका लागि भारत जाने भएकाले उनीहरू तथा उनीहरूको परिवारमा एचआईभी संक्रमण बढी देखिएको एचआईभी फोकल पर्सन मनोज प्रसाद ओझाले बताए। उनका अनुसार थोरै मात्रामा बच्चा तथा केही ट्रान्सजेन्डरमा पनि संक्रमण देखिएको छ।
(ट्रान्सजेन्डर भन्नाले जन्मजात लिङ्ग पहिचानभन्दा भिन्न पहिचानका साथ जीवन जिउने व्यक्तिलाई जनाइन्छ।)
हाल सेती प्रादेशिक अस्पताल धनगढी, टिकापुर अस्पताल, लम्कीचुहा अस्पताल, मालाखेती अस्पताल, महाकाली प्रादेशिक अस्पताल कञ्चनपुर, डडेलधुरा अस्पताल, जिल्ला अस्पताल डोटी, अछाम, बझाङ, बाजुरा, दार्चुला र बैतडीका जिल्ला अस्पताल तथा कमलबजार (अछाम), केसरपुर (बैतडी), दोधारा (कञ्चनपुर), जोगबुढा (डडेल्धुरा) प्राथमिक स्वास्थ्य केन्द्र र वालपाटा अस्पताल अछाममा एचआईभी संक्रमितको उपचार सेवा उपलब्ध छ।








