काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)ले १२ बुँदे आचारसंहिता जारी गर्दै आफ्ना सबै कर्मचारीलाई अनिवार्य पालना गर्न निर्देशन दिएको छ ।
उपकुलपति डा. भूपेन्द्रकुमार बस्नेतले जारी गरेको विज्ञप्तिअनुसार जेनजी समूहको नेतृत्वसँग छलफल गरेर नै उक्त आचारसंहिता तयार पारिएको हो ।
आचारसंहितामा अस्पताल बाहिर औषधि पसल, ल्याब वा इमेजिङ सेन्टर सञ्चालन नगर्नु पर्ने प्रावधानदेखि बिरामीलाई अनावश्यक रूपमा अन्य अस्पतालमा रिफर गर्न नपाइने व्यवस्था समेत गरिएको छ ।
शिक्षक, चिकित्सक, नर्सिङ, प्यारामेडिक्स, स्वास्थ्यकर्मी, प्रशासनिक कर्मचारीदेखि मर्मत तथा सरसफाइमा संलग्न कर्मचारीसम्म सबैलाई यो आचारसंहिता पालना गर्न निर्देशन दिइएको छ ।
प्रतिष्ठानले आचारसंहिता उल्लंघन भएमा प्रचलित ऐन तथा कानूनअनुसार कारबाही हुने चेतावनी दिएको छ ।

यस्ता छन् आचारसंहिता
– सेवाग्राहीहरूसँग प्रत्यक्ष सम्पर्कमा आउने स्वास्थ्यकर्मी तथा कर्मचारीहरूले बिरामीहरूसँग शिष्ट एवं मर्यादित व्यवहार गर्ने
– कार्यालयको निर्धारित समयमा आफ्नो कार्यस्थलमा उपस्थित भइ आफ्नो तोकिएको जिम्मेवारी इमान्दारीपूर्वक बहन गर्ने
– कार्यालय समयभित्र खाजा र खाना खानु परेमा आलोपालो मिलाई निर्धारित समयमा मात्र व्यवस्थापन गर्ने
– बिदालाई अधिकारको रूपमा नलिई सेवा प्रवाहमा असर नपर्ने गरि बिदा बस्ने

– चिकित्सक र स्वास्थ्यकर्मीहरूले कार्यालय समयमा अस्पताल बाहिर गएर निजी अस्पताल र क्लिनिकमा बिरामी नहर्ने
– अस्पताल बाहिर औषधि पसल, ल्याब, इमेजिङ सेन्टर आदि नखोल्ने
– अस्पतालमा हुने परीक्षक्षहरू अस्पतालमा नै गर्ने व्यवस्था मिलाउने
– विरामीहरूलाई अनावश्यक रूपमा अन्य अस्पतालमा रिफर नगर्ने
– ओपीडीमा बिरामी नसकी ओपीडी बाहिर नजाने
– ओटी समय पालना कडाइका साथ गर्ने र गराउने
– बिरामीहरूलाई विशेष कुनै खास ब्रान्डको औषधि तथा औषधिजन्य सामाग्री खरिद गर्न बाध्य नपार्ने
– अस्पताल फार्मेसीबाट नै औषधि उपलब्ध गराउने
– तोकिएको एप्रोन/ पोसाक/ परिचयपत्र लगाएर मात्र सेवा प्रवाह गर्ने







