काठमाडाैं- मधेस प्रदेशको पर्सामा तीन महिनादेखि फैलिएको हैजाको प्रकोप अझै नियन्त्रणमा आउन सकेको छैन। साउनको अन्तिम सातादेखि सुरु भएको संक्रमणले अहिलेसम्म तीन जनाको ज्यान लिइसकेको छ भने झाडापखालाका बिरामीको संख्या १४ सय नाघेको छ।
जिल्ला स्वास्थ्य कार्यालय पर्साका अनुसार पछिल्लो २४ घण्टामा मात्र २७ जना नयाँ बिरामी थपिएका छन्। यससँगै हालसम्म १,४५१ जनामा संक्रमण पुष्टि भएको छ। तीमध्ये १,४२१ जना निको भइसकेका छन् भने ३० जनामा हैजा पुष्टि भएको छ। हाल चार जना बिरामीको अस्पतालमा उपचार भइरहेको जनाइएको छ।
लामो समय भइसक्दा पनि संक्रमणको स्रोत भने पत्ता लाग्न सकेको छैन। सम्भावित पानीका नमूना परीक्षण भइरहे पनि ठोस कारण नखुलेको स्वास्थ्य कार्यालयले जनाएको छ। चिकित्सकहरू भने अहिलेको युगमा सामान्य रोगको स्रोत पहिचान गर्न नसक्नु ‘दुखद अवस्था’ भएको टिप्पणी गर्छन्।
संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाका अनुसार हैजा दूषित पानी वा खानाबाट फैलिने संक्रमण हो, जसले शरीरको पानी सुकाएर मृत्यु पनि गराउन सक्छ। नेपालमा अहिले फैलिएको हैजा ‘ओभावा’ प्रजातिको भिब्रियो कोलेराले गराइरहेको उनले बताए।

उनका अनुसार हैजा दोहोरिनसक्ने, बालबालिका, बृद्ध तथा कमजोर प्रतिरोधात्मक क्षमता भएका व्यक्तिमा जोखिम अझ बढी हुने गर्छ। नेपालमा यो रोग पुरानो इतिहाससहित बारम्बार देखा पर्दै आएको भए पनि शुद्ध खानेपानीको व्यवस्था नहुँदा अझै पनि हैजा नियन्त्रणमा चुनौती छ।
डा. कोइरालाले संक्रमित क्षेत्रमा खानेपानी परीक्षण, दूषित खाना पहिचान, समुदायलाई सचेतना र आवश्यक परे हैजाविरुद्धको खोप प्रयोग गर्नुपर्ने बताए। अहिले पर्सामा दैनिक ४०–५० जना बिरामी थपिँदै गएको र घरमै जीवनजल सेवन गरेर बस्नेहरूलाई समेत जोड्दा दिनमै सयौं संक्रमित हुन सक्ने उनको अनुमान छ।
उनले हैजाबाट बच्नका लागि उमालेको पानी मात्रै खाने, बासी वा काँचो खाना नखाने, साबुनपानीले हात धुनेजस्ता सावधानी अनिवार्य अपनाउनुपर्नेमा जोड दिएका छन्।








