

काभ्रे – धुलिखेल अस्पतालले मुटुका गम्भीर बिरामीमा पहिलोपटक आईसीडी प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ ।
अस्पतालको मुटुरोग विभागले मुटुको चाल अस्वाभाविक हुने र प्राणघातक अवस्था सिर्जना गर्ने बिरामीमा विशेष प्रकारको ब्याट्री प्रत्यारोपण गरिएको जनाएको छ । यस प्रविधिबाट मुटुको चाल नियन्त्रणमा राखी अकस्मात् मृत्युबाट बचाउन सकिन्छ ।
अस्पतालका संस्थापक तथा वरिष्ठ कार्डियोलोजिस्ट डा. राजेन्द्र कोजुले दुई बिरामीमा गरिएको प्रत्यारोपण सफल भएको जानकारी दिएका छन् । उनले भने, ‘‘प्राणघातक मुटुको चाल बिग्रिने अवस्थाबाट अकस्मात् ज्यान गुमाउन सक्ने बिरामीलाई बचाउने उपायका रूपमा धुलिखेल अस्पतालमा पहिलोपटक दुई जनामा आईसीडी प्रत्यारोपण गरेर सफल सुरुआत गरिएको छ ।’’
डा. कोजुको विश्वास छ, यसले मुटुको चाल गडबड भएर पीडामा रहेका धेरै बिरामीलाई अब ठूलो राहत दिनेछ । यसअघि पनि उनको नेतृत्वमा मुटुका गम्भीर बिरामीहरुको जटिल उपचार सफलतापूर्वक सम्पन्न भइसकेको छ ।


