

काठमाडौं – नेपाल क्यान्सर अस्पतालमा आज बिहान आगलागी भए पनि ठूलो क्षति हुन पाएन। बिहान करिब ६ बजे अस्पतालको डे केयर युनिटमा विद्युत सर्टका कारण आगलागी भएको अस्पताल प्रशासनले जनाएको छ।
आगो लागेपछि स्थानीय बासिन्दा, प्रहरी, दमकल र अस्पतालका कर्मचारीहरूले संयुक्त प्रयासमा आगो पूर्ण रूपमा नियन्त्रणमा लिएका थिए।
अस्पतालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “यस घटनामा सबै बिरामी, कुरुवा तथा कर्मचारी पूर्ण सुरक्षित छन्। अस्पतालका सम्पूर्ण सेवा अविच्छिन्न रूपमा सञ्चालन भइरहेको छ।”
अस्पताल प्रशासनले आगो नियन्त्रणमा सहयोग गर्ने सम्पूर्ण स्थानीय बासिन्दा, नेपाल प्रहरी, नेपाली सेना, दमकलकर्मी तथा आफ्ना कर्मचारीप्रति आभार प्रकट गरेको छ।



