काठमाडौं- भदौ २३ गते राजधानीसहित देशभर जेनजी आन्दोलन चर्किएको बेला स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय भने फरक जिम्मेवारीमा थियो, प्रदर्शनमा घाइते भएकाको उपचारमा समन्वय गर्ने। सिभिल अस्पतालदेखि ट्रमा सेन्टर, वीर, त्रिवि शिक्षणदेखि निजी अस्पतालसम्म बिरामी पठाउने, रगतको अभाव नहोस् भनेर व्यवस्था मिलाउने र चिकित्सक खटाउने काम राति १० बजेसम्म मन्त्रालयको टोलीले निरन्तर गरिरहेको थियो।
तर, अर्को दिन त्यही मन्त्रालय प्रदर्शनकारीकै समूहले जलाइदियो। मंगलबार दिउँसो रामशाहपथ वरपर सर्वोच्च अदालत र नेपाल बार भवन जल्न थालेपछि मन्त्रालयका अधिकांश कर्मचारी सुरक्षित रूपमा निस्किएका थिए। तर कार्यालय सहयोगी, सुरक्षाकर्मी र केही कर्मचारी भने भित्रै थिए।

पहिलो पटक छिरेका प्रदर्शनकारीलाई रोक्न सफल भए, तर केही कम्प्युटर र कागजपत्र लुटिए। दोस्रो पटक आएको अर्को समूहलाई पनि कर्मचारीले धकेले। तर तेस्रो समूह हातमा खुकुरी बोकेर पसेपछि रोकिन सकेन।
यसरी पूर्ण रूपमा ध्वस्त भएको मन्त्रालयसँगै स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाइ पनि जलेको छ। स्वास्थ्य कर कोष सचिवालय भवनमा समेत क्षति पुगेको छ।
मन्त्रालयको भवन, फर्निचर, कम्प्युटर, सवारीसाधनदेखि सबै महत्त्वपूर्ण कागजपत्र खरानी बनेका छन्। दातृ निकायसँगका सम्झौता, नियमित खोप खरिद गर्ने कागजात, नयाँ कार्यक्रमका कार्ययोजना केही पनि बाँकी छैन।
सचिव डा. विकास देवकोटाले भने, “भवनको सबै कोठा र सरसामान जलेर नष्ट भएको छ, कुनै पनि बाँकी छैन। स्थान्तरण गर्ने सम्भावना नै रहेन।”

भवन नभएपछि कर्मचारीहरू हाल घरबाटै काम गरिरहेका छन्। अस्पतालहरूलाई आवश्यक सामग्री दिने, घाइतेको उपचार विवरण लिने, चिकित्सक तथा स्वास्थ्यकर्मी परिचालन गर्ने काम भने निरन्तर भइरहेको मन्त्रालयले जनाएको छ।
प्रमुख स्वास्थ्य प्रशासक डा. समीर अधिकारीले अहिले अस्थायी रूपमा बस्ने ठाउँ खोजिरहेको बताए।
“हामी भर्चुअल छलफलमै काम अघि बढाइरहेका छौँ। प्रशासनिक काम नयाँ स्थान पाइसकेपछि मात्रै सुरु हुन्छ,” उनले भने। हाल मन्त्रालयले क्षतिको विवरण लिने र मुचुल्का उठाउने कार्य सुरु गरेको छ।
मन्त्रालय मात्र होइन, त्यसको भवन पनि विशेष थियो। ५० वर्ष पुरानो नमुना आर्किटेक्चर स्तम्भविहीन संरचना अमेरिकी इन्जिनियर लुई कार्लले डिजाइन गरेका थिए।
डा. बाबुराम मरासिनीका अनुसार यो भवन यति अद्वितीय थियो कि अध्ययन गर्न स्विट्जरल्यान्ड, डेनमार्क, नेदरल्यान्ड्सलगायतका मुलुकबाट विद्यार्थी आउँथे। २०४५ र २०७२ सालको भूकम्पमा पनि टिकेको यो भवन अन्ततः आन्दोलनकै आगलागीमा ध्वस्त भयो। “विश्वमै नमुना आर्किटेक्चर मानिने भवन अब इतिहासमा मात्र बाँकी रह्यो,” उनले भने।







