काठमाडौं- सिंहदरबार बाहिर रहेको स्वास्थ्य मन्त्रालयले अबको आफ्नो दैनिक काम नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट सञ्चालन गर्ने तयारी गरेको छ।

आइतबारदेखि सबै कर्मचारीलाई उपस्थित गराएर काम सुरु गर्ने तयारी गरिएको मन्त्रालयका सचिव डा. विकास देवकोटाले जानकारी दिएका छन्। उनका अनुसार आन्दोलनका क्रममा क्षतिग्रस्त भएको मन्त्रालय भवनलाई सर्वप्रथम सरसफाइ गरिनेछ। त्यसपछि सुरक्षित अवस्थामा रहेका कागजात तथा अन्य सामग्री संकलन गर्ने कार्य अघि बढाइनेछ।

डा. देवकोटाले भने, “आइतबार र सोमबार सरसफाइ गर्ने योजना छ। नियमित काम भने हाल मन्त्रालय भवनको पछाडिपट्टी रहेको स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट सञ्चालन गर्ने तयारीमा छौं। त्यहाँ दुई वटा भवन छन्, नयाँ भवन अझै सञ्चालनमा आएको छैन, त्यसैले पुरानो भवनका केही कोठा लिएर काम सुरु गर्ने तयारी हो।”
उनले तत्काल आवश्यक पर्ने कागजात तथा डाटा कर्मचारीका इमेल, हार्ड डिस्क वा कम्प्युटरबाट निकालेर प्रिन्ट गरी प्रयोगमा ल्याउने व्यवस्थासमेत मिलाइने बताए।







