काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नेपालमा स्वास्थ्यको जनशक्ति उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिएका छन्। उनले भने, “गुणस्तरीयता कायम गरेर जनशक्ति बढाउन सकिन्छ भने त्यसलाई बढाउनुपर्छ, नियन्त्रण गर्नुहुँदैन। जनशक्तिविहीन स्वास्थ्य संस्थाले त सेवा दिन सक्दैन।”
शनिबार एशोसियशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युशन अफ नेपाल (अफिन)को २७औँ वार्षिक दिवस कार्यक्रममा मन्त्री पौडेलले नेपालमा काम गर्ने स्वास्थ्यकर्मी पर्याप्त नभएको बताए। त्यसैले स्वास्थ्य क्षेत्रको जनशक्ति अभाव कम गर्न आवश्यक रहेको उनको तर्क थियो। उनले स्पष्ट पार्दै भने, “नेपालमा जनशक्ति पुग्यो भन्ने कुरा होईन।”

सरकारी र निजी दुवै संस्थालाई आम्दानी आवश्यक पर्ने भएकाले सरकारले निजी क्षेत्रमा थोरै लगानी गर्न सक्ने अवस्था नभएको उनले बताए। यसै कारण, विदेशबाट स्वास्थ्य शिक्षा अध्ययन गर्न आउने विद्यार्थीको संख्या बढाउन लचिलो रणनीति अपनाउनुपर्ने उनको सुझाव रह्यो।

स्वास्थ्य मन्त्री पौडेलले स्वास्थ्य शिक्षा मन्त्रालयअन्तर्गत नपर्ने र शिक्षा मन्त्रालयअन्तर्गत पर्ने कुरा पनि स्पष्ट पारे। “एकेडेमिक पार्ट स्वास्थ्य मन्त्रालयअन्तर्गत पर्दैन। स्वास्थ्य शिक्षाको विषय शिक्षा मन्त्रालयको दायित्व हो,” उनले भने।
उनले निजी अस्पतालको सहभागिता बिना स्वास्थ्य क्षेत्रमा प्रगति असम्भव भएको पनि बताए। “मेडिकल टुरिज्मको विकास निजी क्षेत्रको सहभागिता बिना कसरी सम्भव हुन्छ?” मन्त्री पौडेलले प्रश्न गरे।
कार्यक्रममा अफिन अध्यक्ष डा. पदम बहादुर खड्काले नीति नियम बनाउँदा निजी अस्पताललाई सहभागि नगराएकोमा स्वास्थ्य मन्त्रालयप्रति असन्तुष्टि व्यक्त गरे। त्यसैगरी, संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले पनि निजी क्षेत्रको उपेक्षा नगर्नुपर्नेमा जोड दिएका थिए।







