काठमाडौं– शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले छोटो अवधिमै उल्लेखनीय सफलता हासिल गरेको छ। केन्द्रले अहिलेसम्म १३०० जनाभन्दा बढीमा मिर्गौला र २८ जनामा कलेजो प्रत्यारोपण सम्पन्न गरेको छ। गत आर्थिक वर्ष २०८०/८१ मा मात्र १९६ जनामा मिर्गौला र १५ जनामा कलेजो प्रत्यारोपण भएको थियो। सबै प्रत्यारोपण सफलताका साथ सम्पन्न भएको केन्द्रले जनाएको छ।
केन्द्रले देशभरिका बिरामीहरूलाई जीवनको दोस्रो अवसर दिने कार्यलाई तीव्र गतिमा अघि बढाएको छ। विभिन्न जिल्लाका बिरामीहरूले आफ्ना परिवारका सदस्य वा आफन्तबाट मिर्गौला पाई सामान्य जीवन फर्काएका छन्। उनीहरूले प्रत्यारोपणपछि घरको काम, खेतीकिसानी, हल्का व्यापार र दैनिक गतिविधि सहज रूपमा गर्न सक्षम भएका छन्। हेरौं प्रत्यारोपणपछि नयाँ जीवन पाएकाहरुको अनुभव–
डाक्टरहरूले मलाई नयाँ जीवन दिएः भीमबहादुर मगर
उदयपुरका ४२ वर्षीय भीमबहादुर मगर आज सामान्य जीवनयापन गर्दैछन्। तर एक वर्षअघि मात्र उनले यस्तो अवस्था सम्भव हुन्छ भन्ने सोचेका पनि थिएनन्। १० वर्षसम्म दुबईमा कार्यरत रहेका उनले स्वास्थ्यमा समस्या देखिएपछि नेपाल फर्किए। घर पुग्नुअघि नै काठमाडौंमै चेकजाँच सुरु गर्नुपर्यो र तीन महिनासम्म उपचारपछि अन्ततः मिर्गौला प्रत्यारोपण आवश्यक भएको निष्कर्ष आयो।
२०८० भदौ २७ गते उनले भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण गरे। त्यो जीवनको सबैभन्दा ठूलो मोड थियो। उनलाई नयाँ जीवन दिन उनकी श्रीमतीले नै मिर्गौला दिएकी थिइन्। “आज म बिरामी भएको जस्तो महसुस नै हुँदैन, श्रीमती पनि पूर्ण रूपमा सामान्य जीवन बाँचिरहेकी छिन्,” उनी सम्झन्छन्।

डाक्टर पुकार र उनको टोलीलाई उनी ‘भगवान सरह’ मान्छन्। “उपचार मात्र होइन, अस्पतालको सेवा सुविधा, पारिवारिक वातावारण, साथी–आफन्त सरह व्यवहारले मन छुन्छ,” उनी भन्छन्।
भीमबहादुर अहिले नेपाल सरकारले स्थानीय तहमार्फत दिने मासिक पाँच हजार सहयोग पाउँदै आएका छन्। हरेक तीन महिनामा फलोअपका लागि अस्पताल पुग्छन्। बाँकी समय घरको हल्का कामकाज, बारीमा सागसब्जी लगाउने कार्यमै बित्छ। उनी भन्छन्, “मलाई नयाँ जीवन दिएको यो अवसरलाई म अझ मूल्यवान् बनाउन चाहन्छु।”
श्रीमानको मिर्गौलाले नयाँ जीवन पाएको छुः देव माया खत्री
चितवनकी ४५ वर्षीया देव माया खत्रीको जीवन २०७९ मंसिर ७ गतेपछि पूर्ण रूपमा बदलिएको छ। नेफ्रोप्याथीका कारण वर्षौंदेखि स्वास्थ्यमा समस्या खेपिरहेकी उनी चार वर्षअघि भक्तपुरस्थित प्रत्यारोपण केन्द्र पुगेकी थिइन्। गाउँमा बस्दाखेरी नै खुट्टा सुन्निने, उल्टी हुने जस्ता लक्षण देखिएपछि चेकजाँच गर्दा मिर्गौला प्रत्यारोपण बाहेक विकल्प छैन भन्ने निष्कर्ष आयो।
त्यस कठिन घडीमा उनका श्रीमान्ले नै मिर्गौला दिए। “श्रीमान्को सहयोग र डाक्टरको मेहनतले आज म सामान्य जीवन बाँचिरहेकी छु,” उनी भन्छिन्। अहिले हल्का कामकाज गर्न सक्छिन्, घर र परिवारसँग खुसीको समय बिताइरहेकी छिन्। उनका दुई छोरा र एक छोरी छन्, जसले उनलाई सधैं साथ दिइरहेका छन्।
औषधी र उपचारका लागि उनले स्वास्थ्य बीमा योजना र सरकारले उपलब्ध गराउने सहयोग रकम प्रयोग गर्दै आएकी छन्। यसले आर्थिक बोझ धेरै हदसम्म हल्का बनाइदिएको अनुभव उनी सुनाउँछिन्।
देव माया अहिले प्रत्येक तीन महिनामा नियमित फलोअपका लागि अस्पताल पुग्छिन्। “अहिले म पनि ठिक छु, श्रीमान् पनि ठिकै हुनुहुन्छ,” उनी मुस्कुराउँदै भन्छिन्। उनका अनुसार, डाक्टर र अस्पतालको सेवाले उनलाई नयाँ जीवन दिएको छ, जसलाई उनले अझ अर्थपूर्ण बनाउन चाहन्छिन्।

श्रीमानको उपहार र डाक्टरको सेवाले जीवन फिर्ता पाएँः चन्द्रा कुमारी
“म तनहुँकी चन्द्रा कुमारी क्षेत्री हुँ। मेरो स्वास्थ्य समस्या सुगर र प्रेसरका कारण शुरु भयो। करिब ६ महिनासम्म म निकै अस्वस्थ थिएँ। ज्यान जोखिममा परेको अनुभवले मलाई डर र चिन्तामा राख्यो। चिकित्सकको सल्लाहपछि २०७३ बैखाश १५ गते मैले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण गर्नुपर्याे।
त्यो कठिन घडीमा मेरो श्रीमानले आफ्नो मिर्गौला दिएर मलाई दोस्रो जीवन दिनुभयो। म आज सामान्य जीवन बाँचिरहेकी छु, हल्का घरको कामकाज गर्न सक्छु। दुई छोरासँग खुसीसँग बसिरहेकी छु। श्रीमान्ले मलाई दिएको यो उपहारको मूल्य म शब्दमा व्यक्त गर्न सक्दिनँ।
अस्पतालमा डाक्टर र कर्मचारीहरूको सेवा अत्यन्तै माया र सहयोगपूर्ण छ। त्यहाँको वातावरण घरजस्तो लाग्छ। हरेक तीन महिनामा फलोअपका लागि पुग्दा मलाई सधैं सहयोग र मायालु व्यवहार पाइन्छ।
उहाँहरू नभएको भए म आज बाँचिरहेकी हुन्थिनँ। डाक्टर र अस्पतालको सेवा, अनि श्रीमान्को माया मेरो जीवनको साँच्चै नयाँ अध्याय हो।
म अहिले पूर्ण रूपमा स्वस्थ छु। मेरा श्रीमान पनि एकदमै स्वस्थ हुनुहुन्छ, उहाँ सेक्यूरिटीको काम गर्नुहुन्छ।”
प्रत्यारोपणपछि सवारी चालक बन्ने सपना साकार गर्दै १९ वर्षका ओमकुमार
झापाका १९ वर्षीय ओमकुमार राजवंशीले २०८० भदौ १३ गते शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण गराएका थिए। लामो समयदेखिको स्वास्थ्य समस्यापछि उनले आफ्नो बुवाबाट मिर्गौला पाएर नयाँ जीवन पाए।
उनका बुवा गौतमलाल राजवंशीले अंग दान गरेर छोरा जीवन बचाउन ठूलो भूमिका खेले। ओमकुमारले बताएअनुसार अस्पतालको वातावरण एकदमै राम्रो थियो। “डाक्टर र कर्मचारीहरूको सेवा उत्कृष्ट छ। निरन्तर फलोअपका लागि केन्द्रमा जानु परिरहेको छ” उनले भने।

ओमकुमार अहिले पूर्ण रूपमा स्वस्थ छन्। हल्का कामकाज गर्न सक्छन् र जीवन सामान्य रूपमा बिताइरहेका छन्। उनले सानो व्यापार गर्ने र सवारी चालक भएर जीविकोपार्जन गर्ने योजना बनाइरहेका छन्। प्रत्यारोपणपछि सवारी चालक अनुमतिपत्र पनि निकालिसकेका छन्।
उनका अनुसार, धर्मभक्त अस्पतालमा निःशुल्क प्रत्यारोपणको बारेमा चेकजाँचको क्रममा जानकारी पाएका थिए। परीक्षा दिँदै गर्दा देखिएका स्वास्थ्य समस्याले उनलाई उपचार आवश्यक भएको देखायो। अहिले परिवारसँग सँगै बस्दै ओमकुमारको जीवन पूर्ण रूपमा सामान्य भएको छ। उनले भने, “बुवाको अंग र डाक्टरको सहयोगले मलाई नयाँ जीवन दियो। अब म यो जीवनलाई अर्थपूर्ण बनाउने प्रयासमा छु।”

५८ वर्षकी आमाको मिर्गौलाले ३५ वर्षीया सम्झनालाई नयाँ जीवन
ललितपुरकी ३५ वर्षीया सम्झना केसीले २०७९ मंसिर १५ गते शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण गराएकी हुन्। उनको जीवनमा ठूलो मोड तब आयो जब ५८ वर्षकी आमाले आफ्नो मिर्गौला दान गरिन्।
सम्झना करिब १० वर्षदेखि स्वास्थ्य समस्यासँग जुझिरहेकी थिइन्। प्रत्यारोपणअघि विभिन्न स्वास्थ्य परीक्षण र उपचारमा संलग्न भइन्। अस्पताल पुग्दा उनलाई निःशुल्क प्रत्यारोपणको अवसर पनि थाहा भयो। आज उनी हल्का कामकाज गर्न सक्छिन्। ल्याब टेक्निसियनसमेत रहेकी उनी वडा कार्यालयमा काम गर्दै आएकी छन्। ठुला शारीरिक काम बाहेक दैनिक गतिविधि सामान्य रूपमा गर्न सक्ने अवस्थामा उनी पुगेकी छन्।

सम्झना भन्छिन्, “म आमाको मिर्गौलाले नयाँ जीवन पाएकी छु। अस्पतालको सेवा उत्कृष्ट छ र डाक्टर तथा नर्सहरूको व्यवहार सधैं माया र सहयोगपूर्ण छ। यहाँको वातावरण घरजस्तो अनुभूति हुन्छ।”
प्रत्यारोपणपछि उनको जीवनशैलीमा ठूलो परिवर्तन आएको छ। अब उनी आफैं दैनिक कामहरू सजिलै गर्न सक्छिन् र परिवारसँग खुसीपूर्वक जीवन बिताइरहेकी छिन्। नियमित फलोअपका लागि उनी अस्पताल पुगिरहेकी छन् र स्वास्थ्य पूर्ण रूपमा सामान्य भएको अनुभव गरिरहेकी छिन्।
वर्षको संघर्षपछि नयाँ जीवन पाएँः किशोर गुरुङ
धरानका ४७ वर्षीय किशोर गुरुङले २०८० मंसिर २७ गते शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण गराएका थिए। लामो समयदेखिको स्वास्थ्य समस्यापछि उनले आफ्नो बहिनीबाट मिर्गौला पाएर नयाँ जीवन पाएका हुन्।
किशोरले बताएअनुसार, २०१८ मा फुटबल खेल्दाका क्रममा नियमित स्वास्थ्य जाँच गर्दा पिसाबमा समस्या देखियो। त्यसपछि चार वर्षसम्म औषधी उपचार गरे पनि निको भएन। चार पटक डायलाइलिस गर्नुपरेपछि अन्ततः प्रत्यारोपण गराउनुप¥यो। “त्यतिबेला अस्पतालले दिने सबै सुविधा पाएँ। राम्ररी उपचार भयो। देशबाहिर गएको भए यस्तो उपचार सम्भव थिएन र धेरै खर्चिलो हुन्थ्यो,” उनले भने।
अहिले किशोर पूर्ण रूपमा स्वस्थ छन्। हल्का शारीरिक व्यायाम गरिरहेका छन् र बहिनी पनि सहजै घरको काम गरिरहेकी छिन्। कुकिङमा रुचि भएका किशोरले रेष्टुरेन्ट खोल्ने योजना बनाएका छन् र ड्राइभिङ गरेर जीविकोपार्जन गर्ने पनि सोचिरहेका छन्।
किशोर भन्छन्, “अब म सामान्य जीवन बाँच्न सक्छु। बहिनीको माया र अस्पतालको उत्कृष्ट सेवा मेरो जीवनको दोस्रो अवसर हो।” नियमित फलोअप गर्न जाने किशोर अहिले स्वास्थ्यपूर्ण र आत्मनिर्भर जीवन बिताइरहेका छन्।
डायलासिस नगरी प्रत्यारोपण सम्भव भयोः रामप्रसाद भट्टराई
झापाका रामप्रसाद भट्टराईले २०८० जेठ २९ गते शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मिर्गौला प्रत्यारोपण गराएका थिए। उनी सुगर र प्रेसरका बिरामी थिए र नियमित चेकजाँचका क्रममा क्रेटिन स्तर कम भएको थाहा पाएपछि उपचार सुरु गरिएको थियो। समयमै उपचार पाएपछि डायलासिस नगरिकनै प्रत्यारोपण सम्भव भयो।
रामप्रसाद वर्तमानमा प्रशासनिक अदालत काठमाडौंमा रजिष्ट्रारको रुपमा कार्यरत छन्। उनका अनुसार अस्पतालमा जनशक्तिको अभावले गर्दा अल्ट्रासाउन्ड गर्न समय लाग्ने र फलोअपका लागि छुट्टै युनिट राख्नुपर्ने आवश्यकता देखिन्छ। दैनिक करिब १२० जनाको चेकजाँच भइरहेका भए पनि संख्या अझै बढाउनुपर्ने अवस्था छ।
उनले बताएअनुसार, अझै धेरैलाई राष्ट्रिय प्रत्यारोपण केन्द्रको बारेमा पर्याप्त जानकारी नभएको कारण निजी अस्पतालमा उपचार गर्नुपर्ने हुन्छ। जसले धेरै खर्च बढाउँछ।
हाल रामप्रसाद सामान्य जीवन बिताइरहेका छन्। “श्रीमतीले दिएको मिर्गौला र डाक्टर तथा अस्पतालको सहयोगले मलाई नयाँ जीवन दिएको छ,” उनी भन्छन्। नियमित फलोअप र औषधिले स्वास्थ्य सामान्य भएको उनी बताउँछन्।
अस्पतालको सहयोग र परिवारको माया पाएर नयाँ जीवन पाएँः महिबुल
रौतहटका ६१ वर्षीय शेख महिबुल हकिबको जीवनमा २०८० बैशाख २५ गते ठूलो मोड आयो। करिब १ वर्षअघि उनको स्वास्थ्यमा समस्या देखियो। खुट्टा सुन्निने तथा ज्वरो आउने भएपछि चेकजाँचका क्रममा मिर्गौलामा समस्या देखिएपछि उनी वीर अस्पतालमा धेरैपटक डायलासिस गर्न बाध्य भए।
तर जीवनको नयाँ अवसर उनलाई शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले दियो। केन्द्रमा भर्ना भई उपचार सुरु गर्दा ज्वरो निको भयो। उनले तीन महिनापछि प्रत्यारोपणको मिति पाएका थिए। प्रत्यारोपणपछि पाँच महिना काठमाडौंमै फलोअप गरेपछि घर फर्केर जीवन सामान्य बनाउने तयारी गरे।
अहिले उनी खेतबारीमा काम गर्दै, घरको हल्का काम गर्नसक्ने र दैनिक गतिविधि सहजै गर्नसक्ने अवस्थामा पुगेका छन्। महिबुल भन्छन्, “प्रत्यारोपणपछि म फेरि सामान्य जीवन बाँच्न सकें। अस्पतालको सेवा, डाक्टर र नर्सको सहयोगले मलाई जीवनको दोस्रो अवसर दिएको छ।”
उनको अनुभवले समयमै उपचार, विशेषज्ञको सहयोग र परिवारको समर्थन भएमा जीवन फिर्ता पाउन सकिन्छ भन्ने देखाउँछ। अहिले उनी स्वास्थ्यपूर्ण, सक्रिय र आत्मनिर्भर जीवन बिताइरहेका छन्।







