काठमाडौँ- स्वास्थ्य बीमामा आबद्ध भएका नागरिकहरूले आगामी १ कात्तिकदेखि ८ प्रकारका कडा रोगको उपचार सुविधा पाउने भएका छन्। साथै, विपन्न नागरिकका लागि एकीकृत सुविधा पनि त्यही दिनदेखि लागू हुने भएको छ।
स्वास्थ्य मन्त्रालयले सामाजिक स्वास्थ्य सुरक्षासम्बन्धी कार्यक्रमहरूलाई एकीकृत गर्ने निर्णयअनुसार यो व्यवस्था लागू गर्न लागिएको हो।
यसैका लागि मन्त्रालयले हालै ‘विपन्न नागरिक औषधि उपचार कार्यक्रम सञ्चालन निर्देशिका २०८२ (पहिलो संशोधन)’ स्वीकृत गरेको थियो। संशोधित निर्देशिकाअनुसार, विपन्न नागरिकले पाउँदै आएका सबै उपचार सुविधा अब स्वास्थ्य बीमा बोर्डमार्फत उपलब्ध हुनेछन्।

यो सुविधा १ कात्तिकदेखि स्वास्थ्य बीमा प्रणालीमार्फत मात्र पाउने भएकाले हाल उपचार गराइरहेका वा नयाँ उपचार लिन चाहने सबै विपन्न नागरिकले असोज मसान्तभित्र अनिवार्य रूपमा स्वास्थ्य बीमामा दर्ता गर्नुपर्ने छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार, विपन्न नागरिकले ८ कडा रोगको उपचार सेवा लिन अब बीमा अनिवार्य गरिएको छ।
‘हाल उपचाररत बिरामीहरूको सेवा निरन्तर रहोस् भनेर हामीले असोज मसान्तभित्रै बीमामा दर्ता भइसक्न अनुरोध गरेका छौँ। यो व्यवस्थाले छरिएका कार्यक्रमलाई एकद्वार प्रणालीमा ल्याएर राज्यको स्रोतको प्रभावकारी उपयोग सुनिश्चित गर्छ,’ उनले बताए।
मन्त्रीस्तरीय निर्णयले हाल सेवा लिइरहेका विपन्न नागरिकलाई असोज मसान्तभित्रै बीमा दर्ता गराएर निरन्तरता दिन निर्देशन दिएको छ। यसका लागि स्वास्थ्य बीमा बोर्ड र नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखालाई पत्रसमेत पठाइएको मन्त्रालयले जनाएको छ।








