विराटनगर – सुनसरीको झुम्का कारागारमा फैलिएको स्वास्थ्य संकटलाई नियन्त्रणमा लिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस) ले द्रुत प्रतिक्रिया टोली (आरआरटी) परिचालन गरेको छ।
सयौँ कैदीबन्दीमा ज्वरो, शरीर दुख्ने, नाक बन्द हुने र श्वासप्रश्वासमा समस्या देखिएपछि प्रतिष्ठानले तत्काल कदम चालेको हो। प्रारम्भिक अनुसन्धानका आधारमा यसलाई भाइरल सङ्क्रमण भएको आशंका गरिएको छ।

भदौ १८ गते साँझ कारागारमा कैदीहरूमा देखिएको समस्या बारे जानकारी पाएलगत्तै प्रतिष्ठानका निर्देशकको अध्यक्षतामा मेडिसिन, इमर्जेन्सी मेडिसिन/जनरल प्राक्टिस, एनेस्थेसियोलोजीसहित विभिन्न विभागका चिकित्सक, नर्स र प्राविधिक मिलाएर ९ सदस्यीय टोली खटाइएको सह–प्रवक्ता डा. अभिजीत कुमारले विज्ञप्तिमार्फत जनाएका छन्। टोलीले स्थलगत अवलोकन, जाँचपड्ताल र उपचार सुरु गरिसकेको छ।
झण्डै १ हजार ८ सय कैदीबन्दी रहेको झुम्का कारागारमा ४ सय जनाको स्क्रिनिङ गर्दा धेरैमा ‘एन्जाइटी’ भेटिएको र करिब १ सय जनामा उच्च ज्वरो र अन्य लक्षण देखिएको प्रतिष्ठानले जनाएको छ। प्रारम्भिक जाँचका क्रममा ब्लक बनाएर सबैको भाइटल टेस्ट गरिएको र गम्भीर अवस्थामा भेटिएकालाई थप उपचारमा पठाइएको हो।
यो प्रकोपसँग सम्बन्धित अहिलेसम्म ३ कैदीबन्दीको मृत्यु भएको पुष्टि भएको छ। एक जनाको मृत्यु कारागारमै, अर्को इनरुवा जिल्ला अस्पतालमा र एक जना बीपी प्रतिष्ठानमा भएको हो। बीपीमा मृत्यु भएका बिरामीलाई सेप्टिक सक र मल्टिपल अर्गन डिसफङ्क्शन सिन्ड्रोमको कारण बचाउन नसकिएको विज्ञप्तिमा उल्लेख छ।

यता, ३५ जनामा गरिएको डेङ्गु परीक्षणमा २ जनामा पोजेटिभ पाइएको छ भने १० जनामा गरिएको कोभिड परीक्षण ‘नेगेटिभ’ आएको छ। प्रारम्भिक उपचारपछि १२ जना कैदीलाई बुधबार राति प्रतिष्ठानको इमर्जेन्सीमा थप निगरानीका लागि ल्याइएको थियो। हालसम्म भर्ना भएका सबैको अवस्था सामान्य रहेको जनाइएको छ।
प्रायः १०–१२ दिनयता यस्तै प्रकृतिका बिरामी कारागारबाट अस्पताल आइरहेको र करिब १५–१६ दिनअघि ल्याइएका एक कैदीलाई जापानी इन्सेफलाइटिस (जेई) पुष्टि भएर सफलतापूर्वक निको पारिएको जानकारी पनि प्रतिष्ठानले दिएको छ।
भदौ १९ गते बिहान अस्पतालमा बसेको समीक्षा बैठकमा विभिन्न विभागीय प्रमुखहरूले आरआरटी र डिजास्टर टीमसँग छलफल गरेका थिए। मेडिसिन विभाग प्रमुख प्रा.डा. रबिन मास्केले पछिल्लो समय भाइरल सङ्क्रमण र फिभरका केसहरू बढेको भन्दै कारागारमा देखिएको समस्या पनि त्यसकै प्रभाव हुन सक्ने बताए। इमर्जेन्सी मेडिसिन प्रमुख प्रा.डा. रबिन भण्डारीले पनि उनको भनाइमा सहमति जनाए।
बैठकले तत्काल आत्तिने अवस्था नभएको तर सर्वसाधारणलाई पनि भाइरल सङ्क्रमणबाट बच्न सावधानी अपनाउन आग्रह गरेको छ। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को डिजास्टर टोलीले समेत प्रतिष्ठानमा भर्ना भएका बिरामीसँगै झुम्का कारागारबाट नमूना सङ्कलन गरेको छ।







