महोत्तरी- महोत्तरीको पिपरा गाउँपालिका–६, रतौलीस्थित आदर्श माध्यमिक विद्यालयमा खाजामा छेपारो भेटिएपछि ७० भन्दा बढी विद्यार्थी एकैपटक बिरामी परेका छन्।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमप्रकाश महतोका अनुसार हिजो दिउँसो एक विद्यार्थीको प्लेटमा दिइएको खाजामा छेपारो देखिएपछि ती बालकले खाजा खान अस्वीकार गर्दै घर फर्केर अभिभावकलाई जानकारी दिएका थिए। त्यसपछि खाजा खाएका अन्य विद्यार्थीहरूमा समेत वाकवाकी र असहजता देखिएपछि उनीहरूलाई उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पुर्याइएको हो।

अस्पतालका चिकित्सकहरूले विद्यार्थीहरूमा गम्भीर स्वास्थ्य समस्या नदेखिएको स्पष्ट पारेका छन्। तर सतर्कताका लागि सबैलाई अस्पतालमा राखिएको जनाइएको छ। कतिपय विद्यार्थी उपचारपछि घर फर्किसकेका छन् भने केही अझै चिकित्सकको निगरानीमा अस्पतालमै राखिएका छन्।
पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले विद्यालयको दिवा खाजामा छेपारो कसरी पुग्यो भन्ने विषयमा तत्काल छानबिन हुने बताएका छन्। दोषी ठहरिनेहरूमाथि कडाभन्दा कडा कारबाही गरिने चेतावनीसमेत दिए।








