काठमाडौं – गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले मुलुकमा स्वास्थ्य र शिक्षा क्षेत्रको सुदृढ विकास भए मात्र वास्तविक अर्थमा देशको समग्र विकास सम्भव हुने बताएका छन्।
काठमाडौंको तारकेश्वर नगरपालिका–१० स्थित लोकतान्त्रिक चोकमा नव–निर्मित शुभम इन्टरनेशनल हस्पिटलको भव्य उद्घाटन गर्दै पूर्वराष्ट्रपतिले नेपालले २०४६ सालको राजनीतिक परिवर्तनपछि स्वास्थ्य क्षेत्रमा उल्लेख्य प्रगति गरे पनि अझै उपचार सेवा गुणस्तरीय बनाउनुपर्ने आवश्यकता रहेको औंल्याए।
“गाउँगाउँमा स्वास्थ्य चौकी पुगे पनि उपचारमा सन्तुष्टि दिन सकिएको छैन। अझै धेरै नेपाली विदेशिन बाध्य छन्। यस्ता अस्पतालहरूले यस बाध्यतालाई अन्त्य गर्न ठुलो टेवा पुर्याउनेछन्,” उनले भने।

यस अवसरमा नेपाली काँग्रेसका वरिष्ठ नेता एवम् पूर्वस्वास्थ्य मन्त्री अर्जुननरसिंह केसीले गाउँगाउँसम्म स्वास्थ्य संस्थाहरू पुगे पनि सेवा प्रभावकारी छैन भन्दै चिन्ता व्यक्त गरे। उनले दक्ष चिकित्सकहरू दिनप्रतिदिन विदेशिने क्रमलाई रोक्न राज्यले तत्काल ठोस नीति लिनुपर्नेमा जोड दिए।

यस्तै, कांग्रेसका नेता जगदीश्वरनरसिंह केसीले काठमाडौँको उत्तरी क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवाको आवश्यकता रहेको उल्लेख गर्दै अस्पतालले त्यस क्षेत्रमा ठूलो भरपर्दो योगदान गर्ने विश्वास व्यक्त गरे।
समारोहमा काठमाडौँ क्षेत्र नं. ६(ख) का सांसद इञ्जिनियर अमन मास्के, तारकेश्वर नगरपालिकाका प्रमुख कृष्णहरि महर्जन, निवर्तमान प्रमुख रामेश्वर बोहरा, वडा नं. १० का अध्यक्ष कुमार राईलगायतले अस्पतालले स्थानीयलाई विशेष सहुलियतमा सेवा दिन आग्रह गरे।
अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. केदारनरसिंह केसीले आर्थिक अभावका कारण कुनै पनि बिरामी उपचार विना फर्कनु नपरोस् भन्ने उद्देश्यसहित अस्पताल सञ्चालन गरिएको बताए। १५ करोड रुपैयाँभन्दा बढी लगानीमा निर्माण भएको यो अस्पताल हाल २४ शय्याको क्षमतासहित सेवा दिइरहेको छ।








