कैलाली- कैलालीको गेटा अस्पतालले प्रदेशमै पहिलो पटक मेमोग्राम सेवा दिँदै आएको छ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा स्थापना गरिएको गेटा अस्पतालले स्तनको जाँच गर्ने मेमोग्राम सेवा दिइरहेको हो ।
गेटा अस्पतालका निर्देशक डा. प्रमोद कुमार यादवले महिलाहरूमा स्तन क्यान्सर छ या छैन भन्ने जाँच गर्न मेमोग्राम गरिने बताए । मेमोग्राफी गर्दा स्तनभित्रको असामान्य गाँठो वा टिस्यु देखाउने गर्दछ । यो ४० वर्षभन्दा माथिका महिलाले नियमित रूपमा जाँच गर्नुपर्ने सेवाका रूपमा रहेको चिकित्सकहरू बताउछन ।

अस्पतालका सूचना अधिकारी नैन सिंह कार्कीले गत आर्थिक वर्षमा ९६ जनाले मेमोग्राम सेवा लिएको बताए । उनले चालु आर्थिक वर्षको श्रावणमा मात्रै २२ जनाको मेमोग्राम गरिएको बताए ।

गेटा अस्पतालले आर्थोस्कोपी सेवा पनि दिँदै आएको छ । जुन सेवा पनि यस क्षेत्रकै पहिलो भएको अस्पतालका निर्देशक डा. यादवले बताए । आर्थोस्कोपीमा हड्डी वा जोर्नीको उपचारमा प्रयोग हुने सर्जिकल उपकरण हो । यसलाई जोर्नी भित्र भएको समस्या पत्ता लगाउन पनि प्रयोग गरिन्छ । यो सेवा नियमित रूपमा हाल टीकापुर अस्पतालमा मात्रै उपलब्ध छ ।
निर्देशक यादवले अस्पतालमा प्रदेशकै पहिलो मोड्युलर ओटी, मोड्युलर ल्याव सेवा पनि दिइरहेको बताए ।







