काठमाडौं – नेपालमा आइभीएफ (इनभिट्रो फर्टिलाइजेसन) वा ‘टेस्ट ट्युब बेबी’ प्रविधि बच्चा नबस्ने दम्पतीका लागि सुरक्षित र भरपर्दो उपायका रूपमा अघि बढिरहेको छ। ललितपुरको बीएण्डबी अस्पतालमा कार्यरत आइभीएफ विशेषज्ञ तथा प्रजनन स्वास्थ्य विज्ञ डा. नुतन शर्माका अनुसार यस प्रविधिले असंख्य दम्पतीलाई आमा–बुबा बन्ने सपना पूरा गरिदिएको छ।
डा. शर्माले आइभीएफबारे जानकारी दिँदै भनिन्, “यो प्रविधिमा महिलाबाट अण्डा र पुरुषबाट वीर्य निकालेर प्रयोगशालामा मिलाइन्छ। त्यसबाट भ्रूण तयार पारेर पुनः आमाको गर्भाशयमा राखिन्छ। सफल भएमा आमा गर्भवती हुन्छिन् र बच्चा सामान्य नै हुन्छ।”

उनका अनुसार महिलाको अण्डा सकिसकेको, महिनावारी सुकिसकेको, पुरुषमा वीर्यको संख्या अत्यन्तै कम भएको, उमेर बढी भएको वा विभिन्न उपचार प्रयास गर्दा पनि बच्चा नबसेको अवस्थामा आइभीएफ गर्न सकिन्छ। “कहिलेकाहीँ स्पष्ट कारण नै नपाई पनि बच्चा नबस्ने हुन्छ। यस्तो अवस्थामा पनि आइभीएफ प्रभावकारी विकल्प बन्न सक्छ,” उनले भनिन्।
आइभीएफ प्रक्रिया सुरक्षित रहेको भन्दै डा. शर्माले भन्छिन्, “आमालाई कुनै जोखिम हुँदैन। यो प्रविधि अत्यन्त नियन्त्रित र वैज्ञानिक पद्धतिबाट हुन्छ।” तर सबै औषधि र सामग्री विदेशबाट मगाउनुपर्ने भएकाले खर्च केही महँगो हुने उनको भनाइ छ।


उनले आइभीएफ असफल भएमा फेरि–फेरि पनि गर्न सकिने भएकाले आशा नहराउनुपर्ने बताइन्। “आइभीएफमा कुनै उमेर सीमा छैन। यहाँसम्म कि ५६ वर्षको उमेरमा समेत महिलाले आइभीएफमार्फत जुम्ल्याहा बच्चा जन्माएको उदाहरण छ,” उनले भनिन्।
समाजमा अझै पनि टेस्ट ट्युब बेबीलाई फरक ठान्ने सोच कायम रहेको भन्दै उनले सचेत गराइन्। “आइभीएफ बच्चा सामान्य नै हुन्छ। उनीहरू अन्य बच्चाभन्दा शारीरिक वा मानसिक रूपमा फरक हुँदैनन्। फरक भन्नु भ्रम मात्रै हो” उनले भनिन्।

डा. शर्माले निष्फलतालाई अभिशाप नभई उपचार गर्न सकिने रोगका रूपमा बुझ्नुपर्नेमा जोड दिइन्। उनले भनिन् “दम्पतीहरूले लाज, डर वा हिचकिचाहट गर्नु हुँदैन। ढिलो नगरी सही समयमा विशेषज्ञ कहाँ पुग्न सके उपचार सजिलो हुन्छ। आइभीएफको सफलता दर उमेर र स्वास्थ्य अवस्थाअनुसार फरक पर्छ तर ४०–५० प्रतिशतसम्म सफल हुने सम्भावना रहन्छ।”
नेपालमै अब ल्याप्रोस्कोपिक र रोबोटिक सर्जरी उपलब्ध भएकाले प्रजनन स्वास्थ्य उपचार विश्वस्तरमा पुगेको डा. शर्माको दाबी छ। उनले भनिन्, “आज आइभीएफ प्रविधिले हजारौं दम्पतीलाई सन्तान सुख दिलाइसकेको छ। भविष्यमा यो अझ सुलभ र किफायती हुँदै जानेछ।”







