काठमाडौं– नेपालमा डेङ्गुको सङ्क्रमण तिब्र गतिमा बढिरहेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार डेङ्गुको सङ्क्रमण यतिबेला देशका ७४ वटा जिल्लामा फैलिएको छ ।

पछिल्लो समय मनसून सक्रिय भएर निरन्तर पानी पर्न थालेपछि डेङ्गु सङ्क्रमण बढेको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालका अनुसार अहिले देशभरीमा डेङ्गुबाट संक्रमित हुनेहरुको संख्या तीन हजार २४७ पुगेको छ ।
पछिल्लो एक हप्तामा मात्र २ सय ११ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । यसैगरी, डेङ्गु सङ्क्रमणबाट दुई जनाको निधन भएको छ ।

अहिले कोशी प्रदेशमा ५६८, मधेस प्रदेशमा ६२, बाग्मती प्रदेशमा ६७५, गण्डकी प्रदेशमा ९१४, लुम्बिनी प्रदेशमा ५५१, कर्णाली प्रदेशमा ९३ र सुदूरपश्चिम प्रदेशमा ३८४ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ ।
सन् २०२४ मा डेङ्गी सङ्क्रमण ७६ जिल्लामा फैलिएको थियो भने यसबाट १५ जनाको मृत्यु हुनुका साथै ४१ हजार ८६५ जना सङ्क्रमित भएका थिए ।







