मुम्बई – अभिनेता रणवीर सिंह अभिनीत फिल्म ‘धुरन्धर’ को सुटिङ सेटमा फुड प्वाइजनिङ भएपछि करिब १२० जना चालक दलका सदस्यलाई अस्पताल भर्ना गरिएको छ।

१७ अगस्टमा लेहमै ६०० जनाका लागि पकाइएका भोजन सेवन गरेपछि धेरै जनाको स्वास्थ्य बिग्रिएको थियो। बिरामी परेकालाई तत्काल नजिकैको अस्पताल लगिएको र खाना परीक्षणका लागि नमुना पठाइसकिएको जिल्ला प्रशासनले जनाएको छ।
यस घटनापछि अखिल भारतीय सिने वर्कर्स एसोसिएसन (एआईसीडब्ल्यूए) ले कडा अनुसन्धानको माग गर्दै विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “१५० कामदारमा खाद्य विषाक्तता हुनु स्तब्ध पार्ने घटना हो। प्रमुख अभिनेता रणवीर सिंहको उपस्थिति र उच्च बजेट भए पनि सुटिङ सेटमा स्वच्छ र सुरक्षित खाना नपाइनु अत्यन्त दुःखद हो।”

संघले मजदुरलाई अस्वच्छ खाना खुवाइने तर कलाकार र निर्माण टोलीका लागि फरक उच्चस्तरीय व्यवस्था हुने विभेदको पनि आलोचना गरेको छ। एआईसीडब्ल्यूएले निर्माता र उत्पादन गृहलाई पूर्ण जिम्मेवारी लिन माग गर्दै सबै प्रभावित श्रमिकलाई तुरुन्तै उत्कृष्ट उपचार दिन आग्रह गरेको छ।
निर्देशक आदित्य धर र निर्माता ज्योति देशपाण्डेको निर्माणमा तयार भइरहेको फिल्ममा रणवीरसँगै सारा अली खान, अर्जुन कपूर, सञ्जय दत्त, आर माधवन र अक्षय खन्ना प्रमुख भूमिकामा छन्। ‘धुरन्धर’ आगामी डिसेम्बर ५ मा रिलिज हुने तय भएको छ।







