काठमाडौं- सन् २०२५ को हालसम्म जापानिज इन्सेफलाइटिस् (जेई) का कारण नेपालभर ११ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाको बाल स्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमका अनुसार हालसम्म ६३ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये ११ जनाको मृत्यु भइसकेको छ।
मृतक मध्ये तेह्रथुम, बारा, मोरङ, झापा, नवलपरासी पश्चिम, कैलाली, प्युठान र अर्घाखाँचीका एक–एक जना तथा चितवनका तीन जना रहेका छन्। उनीहरूमध्ये आठ वर्षका एक, १७ वर्षका एक र बाँकी ४० वर्षभन्दा माथिका नौ जना रहेका छन्।

डा. गौतमका अनुसार मृत्यु हुनेमध्ये ३० प्रतिशत घरमै रहेका बेला निधन भएको हो भने २७ प्रतिशत बिरामी अस्पताल पुग्दै गर्दा नै ज्यान गुमाएका थिए। सन् २०२४ मा भने यो रोगबाट २५ जनाको मृत्यु भएको थियो र ८६ जनामा संक्रमण पुष्टि भएको थियो।
उनले जापानिज इन्सेफलाइटिस् विरुद्ध खोप नलगाएका व्यक्तिमा संक्रमणको दर बढी देखिएको बताए। हालसम्म यो रोग २४ जिल्लाका ५० स्थानीय तहमा फैलिएको छ। तीमध्ये २४ वटा स्थानीय तहलाई उच्च जोखिम क्षेत्र मानिएको छ।
डा. गौतमका अनुसार नेपालमा हालसम्म ८२ प्रतिशत बालबालिकाले जेई विरुद्धको खोप लगाइसकेका छन्। उनले साउनदेखि कात्तिकसम्मको समय यो रोग फैलिन सक्ने उच्च जोखिम हुने भन्दै सावधानी अपनाउन सुझाव दिएका छन्।








