काठमाडौं- औषधीलाई नै गुणस्तरहीन भनेर रोक लगाइसकेको अवस्थामा समेत भारतबाट ठूलो परिमाणमा नेपाल भित्र्याई लुकाएर बिक्री भइरहेको तथ्य खुलेको छ । यसले नेपालमा औषधि नियमन प्रणाली कति कमजोर छ भन्ने प्रष्ट पारेको छ ।
औषधी व्यवस्था विभागका अनुसार सफल स्वास्थ्य सेवा प्रालिले नक्कली आयात अनुमति पत्र तयार गरी ‘भ्लेक्जोन–१ ग्राम’ एन्टिबायोटिक इन्जेक्सन ठूलो परिमाणमा भित्र्याएर अस्पताल र फार्मेसीसम्म आपूर्ति गर्दै आएको प्रमाण भेटिएको हो । उक्त औषधि भारतको ‘भ्यालेन्ट्रोन हेल्थ केयर’ले उत्पादन गरेको हो, जसलाई विभागले गत जेठ २० गते गुणस्तरहीन भन्दै आयात अनुमति खारेज गरिसकेको थियो।
खारेज मात्र होइन, कम्पनीलाई आफ्ना पुराना अनुमति पत्र बुझाउन भनिए पनि उनीहरूले त्यसलाई प्रयोग गरी धमाधम औषधि बिक्री गरेको पाइएको छ।
ट्रमा सेन्टरको फार्मेसीमा सो इन्जेक्सन देखिएकाे उजुरीको आधारमा विभागले मंगलबार कलंकीस्थित गोदाममा आकस्मिक छापा मार्दा नक्कली कागजात फेला परेको छ तर औषधि भने लुकाइएको थियो। विभागका वरिष्ठ औषधि व्यवस्थापक किरण बज्राचार्यका अनुसार, आयात अनुमति पत्र खारेज भएपछि पनि ठूलो परिमाणमा औषधि भित्रिएको प्रमाण भेटिएको छ। उनले अस्पतालका फार्मेसीसम्म आपूर्ति भएको प्रमाणसहित थप अनुसन्धान गरिरहेका बताए।

विभागका अनुसार प्रज्ञापन पत्रमा २ लाख ५० हजार भाइल इन्जेक्सन ल्याइएको देखिन्छ, जसको बजार मूल्य २ करोड २५ लाख रुपैयाँभन्दा बढी पर्छ।
औषधि नै गुणस्तरहीन भनेर प्रमाणित भएपछि त्यसको प्रयोगले बिरामीको स्वास्थ्य झन् बिगार्ने खतरा रहन्छ। विशेषज्ञहरूले यसलाई जनस्वास्थ्यसँग खेलवाड” भन्दै कडा कारबाहीको माग गरेका छन्।
विभागले यसलाई ठूला औषधि आयातकर्ताको सिण्डिकेट-स्तरको स्क्यान्डल भन्दै विस्तृत छानबिन अगाडि बढाएको छ।








