जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा दुई वर्षपछि पुनः डायलाइसिस सेवा सुरु भएको छ। उपकरण र जनशक्तिको अभावका कारण बन्द भएको यो सेवा आइतबारदेखि सञ्चालनमा आएको नर्सिङ निर्देशक सविना थापाले जानकारी दिइन्।
डायलाइसिस सेवा पुनः सुरु भएसँगै मृगौला रोगीलाई अब महँगो खर्च र जहाज भाडा तिरेर नेपालगन्ज वा काठमाडौं धाउनुपर्ने बाध्यताबाट राहत मिलने भएको छ।
प्रतिष्ठानले मुगु खत्याड गाउँपालिका–२ की जीरकला बियारको डायलाइसिस गरेर सेवाको औपचारिक पुनः सुरुवात गरेको छ। उपचारपछि खुसी व्यक्त गर्दै बियारले आर्थिक अभावका कारण राजधानी वा बाहिर जान सक्दिन कि भन्ने डर थियो, तर जुम्लामै सेवा पाउँदा ठूलो राहत भएको बताइन्।

प्रतिष्ठानका उपकुलपति डा. पूजनकुमार रोकायाले यसपटक सेवा निरन्तर गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, “पहिले जनशक्ति, औषधि र उपकरणबीच तालमेल नमिलेका कारण समस्या भएको थियो। अहिले सबै तयारी पूरा गरेर सेवा थालिएको छ।”
हाल प्रतिष्ठानमा चारवटा डायलाइसिस मेसिन तयारी अवस्थामा छन्, जसमध्ये दुईवटा प्रयोगमा ल्याएर सेवा सुरु गरिएको छ। चिकित्सकका अनुसार कर्णाली क्षेत्रमा स्वच्छ खानेपानीको पहुँच अपुरो भएकाले मृगौला रोगीको संख्या बढ्दै गएको छ, जसले गर्दा डायलाइसिस सेवाको माग उच्च छ।








