काठमाडौं – बागमती प्रदेश सरकारले प्रदेशभित्र रहेका १३ जिल्लाका पत्रकारलाई लक्षित गर्दै निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने भएको छ। यसबारे जानकारी दिंदै प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले आइतबार भक्तपुरमा आयोजित कार्यक्रममा प्रदेशभित्रका सबै पत्रकारलाई स्वास्थ्य बीमामा समेट्ने तयारी भएको बताए।
मन्त्री थापाले भने, “पत्रकारहरूको स्वास्थ्यप्रति हामी संवेदनशील छौँ। त्यसैले १३ वटै जिल्लाका पत्रकारलाई स्वास्थ्य बीमामा समेटेर प्रिमियम शुल्क प्रदेश सरकारले व्यहोर्नेछ। यसका लागि आवश्यक बजेटको व्यवस्था भइसकेको छ।”
उनका अनुसार पत्रकार स्वास्थ्य बीमाका लागि चालु आर्थिक वर्षमा रु २० लाखको बजेट विनियोजन गरिएको छ। कार्यविधि तयार भइरहेको र बीमाको प्राविधिक पक्षलाई सरल, पारदर्शी र डिजिटलमैत्री बनाउन लागिएको उनले जानकारी दिए। पाँच जनाको परिवारलाई आधार मानेर पत्रकारलाई समूहमा आबद्ध गराइने र प्रिमियम प्रदेश सरकारले तिर्ने व्यवस्था हुने मन्त्री थापाले स्पष्ट पारे।

उनले यो कार्यक्रम पत्रकारको स्वास्थ्य सुरक्षामा दीर्घकालीन सुधार ल्याउने विश्वास व्यक्त गरे। साथै, ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी, एक घण्टा मेरो लागि’ अभियान, ‘एक जिल्ला, एक स्वस्थ सहर’ र ‘एक स्थानीय तह, एक नमूना स्वास्थ्य संस्था’ जस्ता कार्यक्रम यसै आर्थिक वर्षदेखि सञ्चालनमा ल्याइने जानकारी पनि दिए।
मन्त्री थापाले १३ जिल्लाका प्रादेशिक अस्पताल मात्र नभई दुर्गम क्षेत्रका नागरिकसम्म सहज स्वास्थ्य सेवा पुगोस् भन्ने उद्देश्यका साथ कार्ययोजना अघि बढाइएको बताए। औषधि, स्वास्थ्य सामग्री र उपकरणसहित स्वास्थ्यकर्मी आफैं गाउँगाउँ पुग्ने व्यवस्था मिलाइने भन्दै उनले नागरिकले सरकार गाउँगाउँसम्म पुगेको अनुभूति गर्न सक्नेगरी काम भइरहेको उल्लेख गरे।








