कैलाली – स्वास्थ्य कार्यालय कैलालीका फोकल पर्शन मीनबहादुर धामीका अनुसार यस वर्ष कैलालीमा डेंगुका बिरामी संख्या ७६ पुगेको छ। सन् २०२४ मा यो संख्या ५२० रहेको थियो भने सन् २०२५ मा केही घट्ने क्रममा छ। धामीले भने, “सन् २०२५ अझै केही महिना बाँकी छ, त्यसैले बिरामी संख्या बढ्न सक्ने सम्भावना छ।”

धामीले डेंगु रोकथामका लागि संचालन गरिएका लार्भाखोज, नष्ट गर्ने अभियान र सचेतना कार्यक्रमका कारण केही कमी आएको हुन सक्ने बताए। उनले डेंगु लामखुट्टेको टोकाईबाट लाग्ने भाइरल रोग भएको बताउँदै बिहान र बेलुका बढी सकृय हुने भएकाले सो समयमा विशेष सतर्कता अपनाउन आग्रह गरे।

सुदूरपश्चिम प्रदेशभर हाल डेंगुका ३४५ जना बिरामी छन्। जिल्लागत विवरण अनुसार बाजुरा र बझाङमा ५६, दार्चुलामा ७, बैतडीमा ३०, डडेल्धुरामा ५६, डोटीमा ३७, अछाममा ३५, कैलालीमा ७६ र कञ्चनपुरमा ४८ जनामा डेंगु पुष्टि भएको छ।
देशभर मनाङ, डोल्पा र हुम्ला बाहेक सबै जिल्लामा डेंगुका बिरामी फेला परेका छन्। हालसम्म नेपालमा कुल २७२० जना डेंगु संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ।







