काठमाडौं- काठमाडौं महानगरपालिकाले बर्खायाममा पानीजन्य रोगको जोखिम बढेपछि प्रशोधित पिउने पानीको जारमाथि कडाइका साथ अनुगमन थालेको छ। गुणस्तरहीन जार बरामद र नष्ट गर्ने कार्यसँगै पानी उत्पादक कम्पनीहरूलाई मापदण्ड पालना गर्न कडा निर्देशन पनि दिइएको छ।
पछिल्लो एक हप्तामै विभिन्न स्थानमा गरिएको अनुगमनबाट मापदण्ड विपरीतका २७१ वटा जार बरामद गरी नष्ट गरिएको महानगरले जनाएको छ। कृषि तथा पशुपन्छी विभागका प्रमुख नुरनिधि न्यौपानेका अनुसार असार र साउन महिनामा मात्र १३९ वटा सवारी साधनको जाँच गर्दा ४५६ वटा फोहोर, कुच्चिएका र गुणस्तर नपुगेका जार बरामद गरेर नष्ट गरिएका छन्।

“बर्खायाममा पानीजन्य रोगको जोखिम उच्च हुने भएकाले हामीले प्रशोधित पानीको गुणस्तरमा विशेष ध्यान दिइरहेका छौँ,” न्यौपानेले भने, “मापदण्ड विपरीतका जारहरूले स्वास्थ्यमा गम्भीर असर पार्न सक्छन्, त्यसैले तत्काल जफत गरी नष्ट गर्ने र कम्पनीहरूलाई कडा निर्देशन दिने काम भइरहेको छ।”
चालु आर्थिक वर्ष सुरु भएयता बल्खु, चाबहिल–चुच्चेपाटी, माछापोखरी–बालाजु र कोटेश्वरलगायतका क्षेत्रमा चेकपोस्ट राखेर अनुगमन गरिएको छ। साउन १८ गते कोटेश्वरमा १५ वटा सवारी साधनको जाँच गर्दा ७७ वटा मापदण्ड विपरीतका जार बरामद गरिएको थियो। साउन २० गते बल्खुमा ८ वटा कम्पनीका सवारी साधन जाँच गर्दा ५९ वटा फोहोर र फुटेका जार फेला परे। त्यसैगरी साउन २१ गते चाबहिल–चुच्चेपाटीमा १९ वटा सवारी साधनको अनुगमन गर्दा ६७ वटा जार बरामद भए र पानीको गुणस्तर परीक्षणका लागि ३ वटा नमुना प्रयोगशालामा पठाइयो। साउन २३ गते माछापोखरी–बालाजुमा गरिएको अनुगमनमा २० वटा सवारी साधनबाट ६८ वटा मापदण्ड विपरीतका जार बरामद गरिएका थिए, जसलाई नष्ट गर्न पठाइएको महानगरले जनाएको छ।

अनुगमनका क्रममा पानी उत्पादक कम्पनीहरूलाई मापदण्ड विपरीतका जारमा पानी बिक्री नगर्न, जारमा उत्पादन मिति र कम्पनीको स्पष्ट लेबल राख्न, बिल–बिजक अनिवार्य साथमा राख्न र पानीको गुणस्तरमा संवेदनशील रहन निर्देशन दिइएको छ।
फुड टेक्नोलोजिस्ट अशोक पराजुलीका अनुसार पानीको भौतिक र जैविक गुणस्तर परीक्षण अत्यावश्यक छ। “प्रयोगशालामा पठाइएका नमुनाबाट पानीको शुद्धता र सुरक्षितता सुनिश्चित गर्नेछौँ,” उनले भने, “नागरिकको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता हो।”
विगतमा बल्खु, कालीमाटी र टङ्केश्वर क्षेत्रमा हैजाका बिरामी भेटिएकाले आगामी दिनमा समुदायस्तरमा पानी परीक्षण र सचेतना कार्यक्रम सञ्चालन गरिने महानगरले जनाएको छ।







