लुम्बिनी – लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा हालैका दिनहरूमा सर्पदंशका घटनामा तीव्र वृद्धि भएको छ। रूपन्देही, दाङ, कपिलवस्तु, र बर्दियालगायत स्थानहरूमा सर्पको टोकाइबाट धेरैको ज्यान गएको छ भने केहीले समयमै उपचार पाएर ज्यान जोगाएका छन्।
रूपन्देहीका हर्षवीर पुलामी सर्पले टोके पनि समयमै अस्पताल पुगेपछि ज्यान जोगियो। तर दाङका शिक्षक शालिकराम यादव र कपिलवस्तुकी १४ महिनाकी बालिका संगीता पासवानीको भने उपचारमा ढिलाइ हुँदा मृत्यु भयो।
किचनबाट तीन दिनमा २३ वटा विषालु सर्प उद्धार भएको, एकै दिनमा अन्य दुई स्थानबाट १७ गोमन सर्प निकालेको घटनाले सर्पको बिगबिगी देखाउँछ। लुम्बिनी प्रदेशमै मात्रै गत एक वर्षमा सर्पको टोकाइबाट २७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

डाक्टरहरू भन्छन् – ‘सर्पले टोकेको एक घण्टा ‘सुनौलो समय’ हो, जसमा उपचार सुरु गर्न सके ज्यान बच्न सक्छ। तर अधिकांश पीडित टाढा अस्पताल पुग्न नसकेर बाटोमै ज्यान गुमाइरहेका छन्। धेरै स्थानमा सर्पदंश उपचार केन्द्र नहुनु र जनचेतनाको अभाव प्रमुख चुनौती बनेको छ।’
नेपालमा हाल २१ प्रजातिका सर्प विषालु छन्, जसमा गोमन र करेत सबैभन्दा धेरै भेटिने प्रजाति हुन्। जलवायु परिवर्तन र शहरीकरणका कारण विषालु सर्प अब पहाडी क्षेत्रमा समेत देखिन थालेका छन्।








