काठमाडौँ – अमेरिका ओहायो राज्यका एक दम्पतीले ३० वर्षभन्दा बढी समयदेखि फ्रिजमा सुरक्षित राखिएको भ्रूणबाट बच्चा जन्माएपछि चिकित्सा क्षेत्रमै ऐतिहासिक कीर्तिमान बनेको छ।
३५ वर्षीया लिन्डसे पियर्स र ३४ वर्षीय टिम पियर्सले गत साता छोरा थाडियस ड्यानियल पियर्सको जन्मसँगै विश्वमै सबैभन्दा पुरानो भ्रूणबाट सफल जन्मको कीर्तिमान बनाएका हुन्। यसअघि १९९२ मा फ्रिज गरिएको भ्रूणबाट २०२२ मा जन्मिएका जुम्ल्याहा सन्तान यो कीर्तिमानका धनी थिए।
३ दशक पुरानो आशा
थाडियस ड्यानियल पियर्स १९९४ मा लिंडा आर्चर्ड र उनका तत्कालीन पतिले इन भिट्रो फर्टिलाइजेसन (आइभिएफ) प्रविधिमार्फत बनाएका भ्रूणहरूमध्ये एकबाट जन्मिएका हुन्। आर्चर्डले त्यो समयमा चार भ्रूण बनाएकी थिइन्, जसमा एकबाट उनकी अहिले ३० वर्षकी छोरी जन्मिइन् भने बाँकी तीन भ्रूणलाई फ्रिजमा राखिएको थियो।

वर्षौंदेखि ती भ्रूणलाई सुरक्षित राख्दै आएकी ६२ वर्षीया लिंडा आर्चर्डले ती भ्रूणहरुलाई न त नष्ट गर्न चाहिन्, न अनुसन्धानका लागि दिन, न त गुमनाम रूपमा अरू परिवारलाई दिन। उनले ती भ्रूणहरूमार्फत जन्मिने बच्चा आफ्नी छोरीको सगाैता (sibling) भएकाले आफैँले छनोट गरेको परिवारलाई मात्र दिन चाहिन्।
क्रिस्चियन धर्म मान्ने आर्चर्डले “नाइटलाइट क्रिस्चियन एडप्शन” नामक संस्था अन्तर्गतको स्नोफ्लेक्स प्रोग्राममार्फत भ्रूण गोद दिने निर्णय गरिन्। उनले अमेरिकी, ख्रीष्टियन, विवाहित श्वेत जोडीलाई मात्र भ्रूण दिन चाहेको बताइन्।

दुई वर्षअघि लिंडसे र टिम पियर्स नामक दम्पतीसँग उनको ‘म्याच’ भयो। सात वर्षसम्म सन्तानको प्रयास गरेका पियर्स दम्पती त्यसपछि टेनेसीको ‘रिजोइस फर्टिलिटी’ क्लिनिकमा गए। सो क्लिनिकले जति पुरानो भए पनि सबै भ्रूण ट्रान्सफर गर्ने नीति लिएको छ।
ती भ्रूणहरू ‘स्लो फ्रीज’ प्रविधिबाट सुरक्षित गरिएको हुँदा तिनीहरू पगाल्ने प्रक्रिया निकै चुनौतीपूर्ण थियो। क्लिनिककी प्रमुख इम्ब्रायोलोजिस्ट सारा एटकिन्सनका अनुसार त्यसलाई सावधानीपूर्वक निकाल्दा उनको गालामा समेत चक्कु लागेर चोट लागेको थियो।
तर ती तीनवटा भ्रूणमध्ये दुईलाई लिंडसेको गर्भाशयमा सारिएको र तीमध्ये एउटाले बच्चाको रूपमा विकास गरेको हो। अहिले जन्मिएको बच्चाको अनुहार आर्चर्डकी छोरीको बाल्यकालीन तस्बिरसँग मिल्दोजुल्दो रहेको उनले बताइन्।
“हामीले रेकर्ड बनाउने सोच गरेका थिएनौँ, हामी त केवल बच्चा चाहन्थ्यौँ,” लिंडसेले भनिन्। अर्कोतर्फ आर्चर्ड भन्छिन्, “म त टाढै भए पनि यो बच्चा भेट्न चाहन्छु। ऊ एकदमै परिपूर्ण छ।”








