
काठमाडौं- नेपाल औषधि उत्पादक संघ (एपोन) को अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित भएका छन्। अध्यक्ष पदका लागि प्रतिस्पर्धामा रहेका अधिकारी र पूर्वअध्यक्ष दीपक प्रसाद दाहालबीच अन्तिम समयमा सहमति जुटेपछि अधिकारीलाई सर्वसम्मत बनाइएको हो।
संघको ३१औं वार्षिक साधारणसभा आज काठमाडौंमा भइरहेको छ। यही साधारणसभाबाट आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन भइरहेको हो। यसअघि अध्यक्ष पदमा मतदानमार्फत निर्णय हुने तयारी थियो, तर सहमतिपछि अधिकारी निर्विरोध बनेका छन्।
विप्लव अधिकारी यसअघि संघका महासचिवसमेत भइसकेका थिए। अघिल्लो कार्यकालमा उनी अध्यक्ष पदका लागि प्रतिस्पर्धा गर्दा महेश प्रधानसँग पराजित भएका थिए। यसपटक भने सन्तोष बराल र प्रभात रुङ्गटालगायतका प्रभावशाली सदस्यहरूको समर्थन पाएसँगै उनको उम्मेदवारी बलियो बनेको थियो।
यद्यपि, अन्य पदहरूको लागि भने मतदान प्रक्रिया यथावत् छ। निर्वाचन समिति संयोजक प्रज्वलजंग पाण्डेका अनुसार अध्यक्ष पदका दुईसहित कुल १७ जनाले उम्मेदवारी दिएका थिए। तर, अब १३ सदस्यीय कार्यसमिति चयनका लागि बाँकी पदहरूमा प्रतिस्पर्धा हुने भएको छ।
संघले यसपटक विधान संशोधन गर्दै १३ सदस्यीय नयाँ संरचना लागू गरेको छ। जसअनुसार अध्यक्ष, निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्ष गरी सात पदाधिकारी रहनेछन् भने अन्य छ जना कार्यसमिति सदस्य रहनेछन्।
निर्वाचित अध्यक्षले उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्षसहितका पदाधिकारी मनोनीत गर्नेछन् भने बाँकी सदस्यहरूमा मतदानबाट चयन गरिनेछ। संघमा आबद्ध ६४ वटा औषधि उत्पादक कम्पनीले मतदानमा सहभागिता जनाउनेछन्।
संघको बन्दसत्र जारी रहेको र अन्य पदहरूमा सहमति जुटाउने प्रयास पनि जारी रहेको बताइएको छ। सहमति नभएमा मतदान प्रक्रिया अघि बढाइने निर्वाचन समितिले जनाएको छ।



