काठमाडौं- भारतको बेंगलुरु नजिक एक ३८ वर्षीया महिलामा पहिलोपटक सीआरआईबी नामक नयाँ रक्त समूह फेला परेको छ। ‘सी’ क्रोमर प्रणालीलाई जनाउँछ, जुन हालसम्म पत्ता लागेको ४७ रक्त समूह प्रणालीमध्ये एक हो। ‘आई’ भारतलाई र ‘बी’ बेंगलुरु क्षेत्रलाई जनाउँछ।
महिलाको मुटु शल्यक्रियाका क्रममा चिकित्सकहरूले सामान्य रक्त परीक्षण गर्दा कुनै पनि प्रचलित रक्त समूहसँग मेल नखाएपछि उनीहरू हैरान भए। रक्त परीक्षणमा बारम्बार प्रतिक्रिया आएपछि नमुना अन्ततः बेलायतको ब्रिस्टलस्थित अन्तर्राष्ट्रिय रक्त समूह सन्दर्भ प्रयोगशालामा पठाइयो।
लगभग १० महिनापछि उक्त प्रयोगशालाले बिरामीको रगतमा पहिले कहिल्यै नदेखिएको एन्टिजेन पत्ता लगायो। त्यसपछि उक्त जानकारी इन्टरनेशनल सोसाइटी अफ ब्लड ट्रान्सफ्युजन (आईएसबीटी) मा पठाइयो, जसले ‘सीआरआईबी’ नामलाई अनुमोदन गऱ्यो। यसको औपचारिक घोषणा यसै वर्ष मिलान, इटालीमा आयोजित आईएसबीटीको ३५ औं सम्मेलनमा गरिएको हो।
डा. अंकित माथुरका अनुसार, बिरामीको परिवारका २० जना सदस्यको रक्त नमुना संकलन गर्दा समेत कोही पनि उक्त रक्त समूहसँग मेल नखाएको पाइएको थियो। क्रोमर रक्त समूह प्रणालीअन्तर्गत यो २१ औं एन्टिजेन हो।

उक्त महिला आपतकालीन अवस्थामा कुनै पनि अन्य व्यक्तिबाट रक्त प्राप्त गर्न सक्दिनन्। सामान्य रक्त प्रयोग गरेमा उनको शरीरले त्यसलाई विदेशी तत्व ठानी नष्ट गर्न थाल्छ। यस्तो अवस्थामा चिकित्सकहरूले ‘अटोलोगस ट्रान्सफ्युजन’ अर्थात् बिरामीको आफ्नै रगत संकलन गरी सुरक्षित राख्नुपर्ने बताइएको छ।
बाम्बे रक्त समूह सन् १९५२ मा भारतमै पत्ता लागेको दुर्लभ समूह हो, जुन दश लाख जनामध्ये एक जनामा मात्र पाइन्छ। सीआरआईबी समूहको अवस्था पनि उस्तै रहेको चिकित्सकहरूको भनाइ छ।
डा. स्वाती कुलकर्णीका अनुसार, सीआरआईबी भएका व्यक्ति अरूलाई रगत दिन सक्छन्, तर अरूबाट लिन सक्दैनन्। यस प्रकारका बिरामीको रक्त व्यवस्थापन उच्च सतर्कताका साथ गर्नुपर्ने बताइएको छ।








