
काठमाडौं- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले उपत्यका बाहिर आवश्यक जनशक्ति पठाउन कठिनाइ भएको गुनासो गरेका छन्।
मंगलबार ललितपुरमा आयोजित स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रको क्षमता अभिवृद्धि कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेलले स्वास्थ्यकर्मीहरूको सरुवापछि उपत्यका बाहिर जान आनाकानी गर्ने प्रवृत्तिले समस्या निम्त्याएको बताए।
“सरुवा गर्दा कतिपयले त रमाना नै बुझ्दैनन्,” मन्त्री पौडेलले भने, “यसका कारण संघीय, प्रदेश र स्थानीय तहका दूरदराजका स्वास्थ्य संस्थाहरूमा आवश्यक जनशक्ति पुर्याउन सकिएको छैन।”
उनका अनुसार हाल उपत्यकामा आवश्यकता अनुसारको करिब ७५ प्रतिशत स्वास्थ्यकर्मी छन्, भने उपत्यका बाहिर मात्र ३३ प्रतिशत पुगेका छन्। स्वास्थ्य मन्त्रालयअन्तर्गत हाल २,६०० जना स्वास्थ्यकर्मी छन्, तर उपत्यका बाहिरको आवश्यकता अनुसार एक तिहाइ जनशक्ति पनि पुग्न सकेको छैन।
मन्त्री पौडेलले विपद् व्यवस्थापनमा प्रभावकारी सेवा दिनका लागि मुलुकका सबै स्थानमा आवश्यकता अनुसारको जनशक्ति पुग्नुपर्नेमा जोड दिए। “सबै ठाउँमा आवश्यक जनशक्ति भए बिपद्का बेला तत्काल स्वास्थ्य सहयोग दिन सहज हुन्छ,” उनले भने।
उनले देशको स्वास्थ्य क्षेत्रमा लगानी निकै कम रहेको उल्लेख गर्दै स्वास्थ्य संस्थाहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सकेमा संकट व्यवस्थापन सजिलो हुने धारणा व्यक्त गरे।


