
काठमाडौं- लिथुआनियाकी २९ वर्षीया एक युवतीमा देखिएको दुर्लभ स्वास्थ्य समस्याले चिकित्सा क्षेत्रमा तरंग ल्याएको छ। गर्भधारणका लागि लामो समयदेखि प्रयासरत ती महिलालाई वीर्यको एलर्जी रहेको पत्ता लागेको हो।
प्राकृतिक रूपमा सन्तान जन्माउने प्रयास सफल नभएपछि ती महिलाले दुईपटक टेस्टट्युब प्रविधि (आईभीएफ) को सहारा लिएकी थिइन्। तर, दुबैपटक प्रयास असफल भयो। प्रारम्भिक स्वास्थ्य परीक्षणबाट स्पष्ट कारण नखुलेपछि अन्ततः एलर्जी परीक्षण गर्दा वीर्यमा रहेको प्रोटिनसँग एलर्जी भएको पुष्टि भएको हो।
यस एलर्जीलाई चिकित्सा विज्ञानमा ‘ह्युमन सिमिनल प्लाज्मा एलर्जी’ भनिन्छ। यो अत्यन्तै दुर्लभ अवस्था हो र अहिलेसम्म विश्वभर करिब ८० जना महिलामा मात्र यस्ता केस देखिएका छन्।
एलर्जी विशेषज्ञका अनुसार ती महिलालाई पहिले देखिनै धुलो, ढुसी, बिरालो र कुकुरको रौँजस्ता कुराबाट एलर्जी हुने समस्या थियो। बारम्बार गर्भधारणमा असफल भएपछि उनी एलर्जी विशेषज्ञकहाँ पुगेकी थिइन्।
परीक्षणका क्रममा उनको शरीरमा ‘इयोसिनोफिल्स’ नामक सेता रक्तकोशिकाको मात्रा सामान्यभन्दा धेरै पाइयो। नाक र छालामा गरिएको एलर्जी परीक्षणमा कुकुरको छालाको प्रोटिन ‘Can f 5’ प्रति अत्यधिक प्रतिक्रिया देखिएको थियो। यो प्रोटिनको संरचना वीर्यको तरल भाग ‘सिमिनल प्लाज्मा’सँग मिल्दोजुल्दो हुने भएकाले थप परीक्षण गर्दा उनी पतिको वीर्यप्रति एलर्जिक रहेको पुष्टि भयो।
पीडित महिलाका अनुसार कण्डमबिना यौन सम्पर्क गरेपछि उनलाई नाक बन्द हुने, हाछ्युँ आउने, यौनांगमा जलन हुनेजस्ता समस्या देखिन्थे। तर, यस्ता लक्षण वीर्य एलर्जीका कारण हो भन्ने कुरा पहिले उनलाई थाहा थिएन।
चिकित्सकहरूका अनुसार यस्तो एलर्जी हुँदा महिलाको शरीरले वीर्यमा रहेको प्रोटिनलाई विदेशी तत्व ठानी प्रतिरक्षा प्रतिक्रिया जनाउँछ। यसले शुक्रकिटको गतिविधिमा अवरोध पुगाउँछ र गर्भधारण हुन सक्दैन।
स्वास्थ्य विशेषज्ञहरूले यस्तो अवस्था अत्यन्तै दुर्लभ भए पनि लाज वा जानकारीको अभावका कारण धेरैले रिपोर्ट नगरेकाले वास्तविक संख्या अझ बढी हुनसक्ने अनुमान गरेका छन्।


