हुम्ला- हुम्लाको सिमकोट गाउँपालिका–७ पाङलाथुङकी २२ वर्षीया एक सुत्केरी महिला सुत्केरी भएको ११ दिनपछि बल्ल घर भित्रिएको छ। उनी साउन १ गते चौगानफया आधारभूत स्वास्थ्य इकाइमा छोरालाई जन्म दिएपछि घरपरिवारले उनलाई घर लैजानुको सट्टा तरकारी खेतिमा प्रयोग गरिने प्लास्टिकको त्रिपालमुनि राखेका थिए।
स्वास्थ्य इकाइकी स्टाफ नर्स सुस्मिता रावत र स्थानीय स्वास्थ्य स्वयंसेविका लक्ष्मी शाहीले सुत्केरीलाई घर लैजान पटक–पटक आग्रह गरे पनि परिवारले ‘देउता रिसाउने’ भन्दै नमानेको बताएका छन्।

नर्स रावतका अनुसार त्रिपालमुनिको अस्वास्थ्यकर अवस्थामा बस्दा नवजात शिशुको शरीरमा खटिरा देखिएको थियो। “धेरै सम्झाउँदा पनि मानेनन्,” उनले भनिन्, “हामीले दुई–दुई पटक गएर आग्रह गर्दा पनि बेवास्ता गरियो।”

स्वास्थ्य स्वयंसेविका शाहीले त आफूले आफ्नै घरमा राख्न प्रस्ताव गर्दा पनि सुत्केरीले अस्वीकार गरेको बताइन्। “सायद परिवारको डरले होला, उनी मानिनन्,” उनले भनिन्। अन्ततः सुत्केरीलाई ११ औं दिनमा बल्ल–बल्ल घर भित्र्याइएको शाहीले जानकारी दिइन्।
घटना बाहिरिएपछि प्रहरी प्रशासनले पनि चासो देखाएको थियो। समाचार सार्वजनिक भएपछि जिल्ला प्रहरी कार्यालयले धारापोरी प्रहरीचौकीमार्फत एक टोली पाङलाथुङ पठाएको थियो।
डिएसपी शंकर पोखरेलले सुत्केरीलाई त्रिपालमुनि राख्नु अमानवीय भएको बताउँदै भने, “त्यसरी बाहिर राख्न पाइँदैन, त्यसैले हामीले तत्काल टोली पठाएका हौं।”







