काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभागले देशका सातै प्रदेशमा रेबिजविरुद्धको खोप र सर्पदंश उपचारमा प्रयोग हुने औषधि (एन्टि–भेनम) आपूर्ति गरेको छ।
विभागको व्यवस्थापन महाशाखाका प्रमुख डा. पवनजंग रायमाझीका अनुसार यसअघि नै खरिद प्रक्रियामा रहेर आपूर्तिको क्रममा रहेको खोप तथा औषधि अब प्रदेश सरकारअन्तर्गतका स्वास्थ्य संस्थाहरूमा वितरणका लागि आपूर्ति केन्द्रहरूमा पठाइसकिएको छ।
हालै रेबिज र सर्पदंश उपचारमा प्रयोग हुने औषधिको अभावबारे समाचार सार्वजनिक भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले चासो देखाउँदै मातहतका अधिकारीहरूलाई तत्काल आपूर्ति व्यवस्थापन गर्न निर्देशन दिएका थिए। साथै, मन्त्री पौडेलले भविष्यमा यस्ता औषधिको अभाव हुन नदिन आवश्यक सबै पूर्वतयारी गर्न समेत निर्देशन दिएका थिए। यसैअनुसार स्वास्थ्य सेवा विभागले सातै प्रदेशमा दुवै प्रकारका औषधिहरू आपूर्ति गरेको हो।
विभागका अनुसार रेबिजविरुद्ध प्रयोग गरिने ५१ हजार १८० भायल भ्याक्सिन विभिन्न प्रदेश आपूर्ति केन्द्रहरूमा पुगिसकेको छ।

सबैभन्दा धेरै आपूर्ति बागमती प्रदेशमा गरिएको छ, जहाँ १० हजार ८० भायल रेबिजविरुद्धको खोप र सर्पदंश उपचारका लागि १ हजार भायल एन्टि–भेनम आपूर्ति गरिएको छ।
सर्पदंशको समस्या बढी हुने मानिएको मधेस प्रदेशमा सबैभन्दा धेरै—२ हजार ५ सय भायल एन्टि–भेनम र करिब ५ हजार भायल रेबिजविरुद्धको खोप आपूर्ति गरिएको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार बाँकी प्रदेशहरूमा पनि माग र जोखिमको आधारमा भ्याक्सिन तथा भेनमको आपूर्ति गरिएको छ।








