काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वीर अस्पतालको आकस्मिक कक्ष (इमर्जेन्सी)मा थप ७२ शैया राख्ने तयारी गरिएको बताएका छन्।
सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पौडेलले वीर अस्पतालको सबैभन्दा अव्यवस्थित क्षेत्र इमर्जेन्सी कक्ष रहेको उल्लेख गर्दै त्यहाँको सेवामा सुधार ल्याउन बेड संख्या विस्तार गर्न लागिएको जानकारी दिए।

उनका अनुसार, अस्पतालको समग्र सुधारका लागि मदन उपाध्यायको संयोजकत्वमा समिति गठन गरिएको छ। उक्त समितिले तयार पारेको प्रतिवेदनका आधारमा आवश्यक सुधारका कार्यहरू अघि बढाइएको हो।
‘सरकारी अस्पतालप्रति जनताको विश्वास त छ,’ मन्त्री पौडेलले भने, ‘तर, सेवा व्यवस्थित गर्न सकिएको छैन। धेरै कुरा सुधार भएका छन् तर जबसम्म अस्पतालमै सेवा व्यवस्थित हुँदैन, जनताले अनुभूति गर्न सक्दैनन्। अनुभूति गराउन केही समय लाग्छ।’








