काठमाडौं- बसुन्धरास्थित केडीसी जनरल अस्पतालले साउन महिनाभरि परीक्षण गराउने सेवाग्राहीलाई विभिन्न सेवा निःशुल्क रूपमा प्रदान गर्ने भएको छ।

अस्पतालका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठका अनुसार साउन महिनाभर अस्पतालमा आउने आम सर्वसाधारण र बिरामीलाई सामान्य चिकित्सा तथा शल्यक्रिया (सर्जरी) सम्बन्धी प्रारम्भिक परीक्षण सेवा निःशुल्क रूपमा उपलब्ध गराइनेछ।
यस्तै, प्रसूति र स्त्री रोगसम्बन्धी परीक्षणहरूमा समेत शुल्क नलाग्ने व्यवस्था गरिएको छ। साथै, अस्पतालले प्रयोगशालासम्बन्धी सेवाहरूमा १५ प्रतिशत छुट दिने निर्णय गरेको छ।

छुट लागू गरिएका सेवामा एक्स–रे, ल्याब टेस्ट, पाठेघरको मुखको परीक्षण (प्याप स्मियर) तथा भिडियो एक्स–रे सेवा समावेश छन्।
कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर परिसरमा सञ्चालित केडीसी जनरल अस्पतालमा विशेषज्ञ चिकित्सकहरूको सहज उपलब्धता रहेको छ। अस्पतालले सेवा उपयोगकर्तालाई सुलभ शुल्कमा गुणस्तरीय सेवा दिँदै आएको छ।







