भक्तपुर- नागरिक सामुदायिक शिक्षण अस्पतालले अत्याधुनिक सिटी स्क्यान सेवा सुरु गरेको छ। अस्पतालले एक विशेष समारोहका बीच नयाँ प्रविधिको स्क्यान सेवा औपचारिक रूपमा शुभारम्भ गरेको हो।
शुभारम्भ कार्यक्रममा वरिष्ठ हृदय रोग विशेषज्ञ डा. भगवान कोईराला, प्रजनन स्वास्थ्य विज्ञ डा. भोला रिजाल, श्वासप्रश्वास रोग विशेषज्ञ डा. अर्जुन कार्की लगायत अन्य विशिष्ट चिकित्सकहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको अध्यक्षता अस्पतालका अध्यक्ष रामशरण भण्डारीले गरेका थिए।
अस्पतालले सिटी स्क्यान सेवा सुरु गरेसँगै मस्तिष्क, छाती, पेट, हड्डी तथा अन्य जटिल स्वास्थ्य समस्याहरूको समयमै पहिचान, निदान र उपचार प्रक्रिया अझ प्रभावकारी हुने विश्वास व्यक्त गरेको छ।


अस्पतालले आधुनिक प्रविधिबाट सहज, सुलभ र गुणस्तरीय सेवा प्रदान गर्ने लक्ष्य लिएको जनाएको छ। अस्पतालका अनुसार, यो सेवा विशेषगरी गम्भीर तथा तत्काल उपचार आवश्यक हुने बिरामीहरूको लागि अत्यन्त लाभदायक हुनेछ।
समारोहमा अस्पतालका व्यवस्थापन टोली, अन्य वरिष्ठ चिकित्सक, कर्मचारी तथा सञ्चारकर्मीहरूको समेत सहभागिता रहेको थियो।
अस्पतालले आगामी दिनमा थप आधुनिक स्वास्थ्य सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ। साथै, समुदायसम्म सेवा जानकारी पुर्याउनमा सञ्चारकर्मीहरूको सहयोगका लागि आभार व्यक्त गर्दै भविष्यमा पनि सहयोगको अपेक्षा गरेको छ।








