काठमाडौं – समाज डेन्टल अस्पतालले गरिब तथा विपन्न नागरिकका लागि १ करोड रुपैयाँ बराबरको उपचार कोषको घोषणा गरेको छ। अस्पतालको २५औँ वार्षिकोत्सवको अवसरमा सो कोषको घोषणा गरिएको हो।
समाज डेन्टल अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेका अनुसार, गुणस्तरीय दन्त स्वास्थ्य सेवामा सबैको पहुँच होस् भन्ने उद्देश्यसहित स्थापना गरिएको संस्थाले विभिन्न आरोह–अवरोह पार गर्दै विशिष्टिकृत स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ।
विसं २०५८ साउन १ गते स्थापना भएको समाज डेन्टलले हाल काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रे गरी १० स्थानबाट सेवा दिइरहेको छ। आगामी दिनमा देशका ७७ वटै जिल्लामा सेवा विस्तार गर्ने लक्ष्य लिएको अस्पतालले हालै १ करोड रुपैयाँ बराबरको उपचार कोष स्थापना गरेको घोषणा गरेको छ। उक्त कोषबाट गरिब तथा विपन्न नागरिकको दन्त उपचारमा सहयोग गरिने घिमिरेले जानकारी दिए ।

वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले ‘मेडिकल टुरिजम’ को प्रवर्द्धनका लागि दन्त उपचार क्षेत्रको विस्तार र व्यवस्थापन आवश्यक रहेको बताए ।
सोही कार्यक्रममा नेपाली कांग्रेसका प्रमुख सचेतक तथा अस्पतालका संस्थापक श्यामकुमार घिमिरेले समाज डेन्टल अस्पतालको सेवा देशभर विस्तार गर्ने योजना रहेको उल्लेख गरे । जनचेतना अभिवृद्धि, दन्त स्वास्थ्यमा सबैको पहुँच र आवश्यक जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित अस्पताल स्थापना गरिएको उनले जानकारी दिए ।
हाल समाज डेन्टलले देशका १० स्थानबाट सेवा दिइरहेको छ।








