
काठमाडौं – माल्दिभ्सका मेडिकल विद्यार्थीलाई नेपालमा अध्ययन गराउने सम्झौता अन्तिम चरणमा पुगेको छ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल र माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री अहमद गसिमबीच बैंककस्थित संयुक्त राष्ट्रसंघीय सम्मेलन केन्द्रमा भएको भेटमा सम्झौतासम्बन्धी मस्यौदामाथि सकारात्मक छलफल भएको हो।
मन्त्री पौडेलले मस्यौदा अन्तिम चरणमा रहेको र सम्झौता चाँडै गर्न गृहकार्य भइरहेको जानकारी दिएका छन्। एमडी, एमएस तथा एमबीबीएस तहमा माल्दिभ्सका विद्यार्थीलाई स्वागत गर्न नेपाल तयार रहेको बताउँदै उनले नेपाली विद्यार्थीको अवसर प्रभावित नहुने गरी छुट्टै कोटा राख्ने विषयमा परामर्श भइरहेको जनाए।
भेटका क्रममा मन्त्री पौडेलले माल्दिभ्समा कार्यरत नेपालीहरूले आम्दानी स्वदेश पठाउन कठिनाइ भोगिरहेको समस्या पनि उठाए। जवाफमा राज्यमन्त्री गसिमले उक्त समस्या समाधान गर्न अर्थ मन्त्रालयसँग समन्वय गर्ने प्रतिबद्धता जनाए।
नेपाल सरकारले माल्दिभ्सका विद्यार्थीलाई आकर्षित गर्न नीति तथा संरचनागत तयारी गरिरहेको छ। यसअघि इन्डोनेसिया र जेनेभामा पनि दुबै देशका मन्त्रीबीच यस विषयमा कुराकानी भइसकेको थियो। मन्त्री पौडेलले यस विषयमा सुझाव दिन कार्यदलसमेत गठन गरिसकेका छन्।
माल्दिभ्सले पठाएको मस्यौदामा नेपालले आवश्यक संशोधन गरी चाँडै सम्झौता गर्न तयारी भइरहेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ।


