
काठमाडाैं – नेपाल मेडिसिटी अस्पतालले आफ्नो चिकित्सा इतिहासमा पहिलोपटक सफल कलेजो प्रत्यारोपण सम्पन्न गरेको छ। पोखराका ५६ वर्षीय ईश्वरबहादुर कार्कीलाई उनका छोरा २६ वर्षीय आयुष कार्कीले कलेजो दान गरेका हुन्।
यो जटिल शल्यक्रिया भारतको अमृता अस्पतालसँगको सहकार्यमा नेपाल मेडिसिटीका चिकित्सकको नेतृत्वमा सम्पन्न गरिएको हो। कलेजो निकाल्न ९ घण्टा र प्रत्यारोपण गर्न १३ घण्टा लागेको थियो।
“हामी दुईपटक भारत गएका थियौं, तर त्यहाँको परामर्शले सन्तोष दिएन। नेपालमै यस्तो सेवा पाइने थाहा पाएपछि मेडिसिटीमै प्रत्यारोपण गराउने निर्णय गर्यौं,” कलेजो दाता आयुषले भने।
अस्पतालका अध्यक्ष डा. उपेन्द्र महत्तोका अनुसार, मेडिसिटीमा मल्टिडिसिप्लिनरी टिम भएकाले यस्तो जटिल शल्यक्रिया सम्भव भएको हो। “हामीले नेपालीलाई उपचारका लागि विदेश जानु नपरोस् भनेर अस्पताल सञ्चालनमा ल्याएका हौं,” उनले भने।

ग्यास्ट्रोइन्टेरोलोजी, हेपाटोलोजी तथा इन्डोस्कोपी विभाग प्रमुख डा. उमिद कुमार श्रेष्ठका अनुसार, बिरामी कार्कीको कलेजोसँगै मिर्गौला पनि बिग्रिएको थियो। पेटमा पानी जम्ने, रगत वान्ता हुने, होस गुम्ने जस्ता गम्भीर लक्षण देखिएको अवस्थामा प्रत्यारोपण सफल भएको हो।
कलेजो प्रत्यारोपण सर्जन डा. रामबाबु साहले कलेजोकै कारण मिर्गौला बिग्रिएको हुन सक्ने आशंका रहेकाले पहिला कलेजो प्रत्यारोपण गरिएको र अहिले मिर्गौलामा पनि सुधार देखिएको बताए।
नेपालमा वर्षेनि करिब २००–३०० जनालाई कलेजो प्रत्यारोपणको आवश्यकता पर्दछ। तर २०२३–२४ मा मात्रै ७० भन्दा बढी नेपाली भारतमा प्रत्यारोपणका लागि गएका थिए।
नेपाल मेडिसिटीले नेपाली नागरिकलाई विश्वस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन विभिन्न अंग प्रत्यारोपण सेवा सञ्चालन गर्दै आएको छ। हालसम्म यहाँ ४५ जनाको मिर्गौला र ५०० जनाभन्दा बढीको हिप तथा जोर्नी प्रत्यारोपण भइसकेको छ।
अस्पतालले भविष्यमा पनि यस्ता जटिल सेवा सुलभ बनाउने प्रतिबद्धता जनाएको छ।


