

काठमाडौँ- पाँच वर्षअघि चीनको वुहान सहरबाट कोभिड–१९ को महामारी विश्वभर फैलिएको थियो । तर अहिले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले चीनलाई कोभिड महामारीको उत्पत्तिसँग सम्बन्धित तथ्याङ्क उपलब्ध गराउन अनुरोध गरेको छ ।
कोभिड महामारीको पाँच वर्ष पूरा भएको अवसरमा डब्ल्यूएचओले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘यो नैतिक र वैज्ञानिक आवश्यकता हो ।’ उसले देशहरू बीचको पारदर्शिता, साझेदारी र सहयोगविना विश्वले भविष्यमा हुने महामारी र संक्रमणलाई रोक्न र तयारी गर्न नसक्ने बताए ।
धेरै वैज्ञानिकहरूले यो भाइरस जनावरबाट मानिसमा सरेको विश्वास गर्छन् तर कतिपयले अझै पनि यो वुहानको प्रयोगशालाबाट उत्पन्न भएको शंका गर्छन् । तर, डब्लुएचओले जारी गरेको विज्ञप्तिमा चीनले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।



