
ललितपुर : जिल्ला आयुर्वेद तथा वैकल्पिक चिकित्सालय ललितपुरले गत ११ महिनामा ८ सय ५० जनालाई योगको सेवा दिएको छ । अन्तराष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा बिहीवार आयोेजित कार्यक्रममा चिकित्सालयकी चिकित्सक डा. श्रृष्टी श्रेष्ठले प्रतिकारात्मक सेवा अन्तर्गत केन्द्रले ओपिडी, ल्याबसेवा, पञ्चकर्मजस्तै योगपनि सञ्चालन गर्ने गरेको जानकारी दिइन् ।
आर्थिक वर्ष २०८०।८१ को जेठ मसान्तसम्म आउँदा ७ सय ९१ जना महिलाले योग सिकेपनि जम्मा ६१ जना पुरुषले मात्र योग अभ्यास सिकेका छन् । त्यस्तै चिकित्सालयले एकवर्षमा १२ हजारभन्दा धेरैलाई ओपिडी सेवा दिएको छ भने ३ हजार ५ सयभन्दा धेरै मानिसले पूर्वकर्म एवं पञ्चकर्मको सेवा लिएका छन् ।
चिकित्सालयले एकवर्षमा २ सय ६९ जना सुत्केरी महिलालाई दुग्धवर्धक आयर्वेदिक औषधि वितरण गरेको छ भने १ हजार १ सय २७ जनालाई ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्धन कार्यक्रममार्फत लाभ प्रदान गरेको छ । केन्द्रले पछिल्लो समय योगको महत्व र आवश्यक्ताका बारेमा ज्ञान विस्तार हुँदै गरेको भन्दै सबैलाई योगअभ्यास गर्न आह्वान गरेको छ ।
योगका विषयमा पत्रकारलाई सचेत बनाउने उद्देश्य राख्दै चिकित्सालयले पत्रकारहरुलाई पनि योगअभ्यास सिकाएको थियो ।


