

कैलाली: कैलालीको गोदावरी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले ७ महिन देखि तलब पाउन सकेका छैनन् । नगरपालिकाको स्वास्थ्य शाखा लगायत मालाखेती अस्पताल र विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले कार्तिक महिना यताको तलब नपाएका हुन् ।
संघ र स्थानीय सरकारको चेपुवामा परेका स्वास्थ्यकर्मीले ७ महिनासम्म तलब नपाएपछि अहिले दैनिकी चलाउन पनि धौधौ हुन लागेको दुखेको पोख्न थालेका छन् ।तिनै तहका सरकारले स्वास्थ्यलाई प्राथमिकतामा राखेको चर्को भाषण गर्दै आए पनि व्यवहार भने उल्टो देखाउँदा हाल गोदावरीमा कार्यरत दरबन्दीकै ९० भन्दा बढी स्वास्थ्यकर्मीले तलब पाउन सकेका छैनन् ।
संघ सरकारले ती स्वास्थ्यकर्मीका लागि न नियमित पाउनु पर्ने तलब पठाएको छ न नगरपालिकाले ती स्वास्थ्यकर्मीलाई आफू मातहतका स्वास्थ्य संस्थामा खटाएर नियमित सेवा सुविधा दिने उत्तरदायित्व बहन गर्न सकेको छ । देशै भरी स्वास्थ्यकर्मीले नियमित तलब पाउन नसकेको गुनासो गर्दै आएका भए पनि गोदावरीमा भने व्यवस्थापकीय पक्ष फितलो नहुँदा झन् बढी समस्या रहेको स्वास्थ्यकर्मीको गुनासो छ ।
गोदावरीमा हाल स्वीकृत दरबन्दी, फाजिल र करारका स्वास्थ्यकर्मी कार्यरत रहेका छन् । हाल करारका स्वास्थ्यकर्मीले नियमित तलब पाए पनि दरबन्दी र फाजिलकाले तलब पाएका छैनन् । करारका स्वास्थ्यकर्मीले नगरको आन्तरिक श्रोतबाट तलब पाउँदै आएका छन् ।
स्वीकृत दरबन्दीका स्वास्थ्यकर्मीका लागि संघ सरकारले बजेट पठाउने गरेकोमा त्यही रकम फाजिलका स्वास्थ्यकर्मीको तलबका लागि पनि वितरण गरिँदै आएको छ । जस कारण चालु आर्थिक वर्षमा संघबाट आएको रकम कार्तिक महिनामै सकिएको थियो । हाल नगरमा ३९ जना फाजिल स्वास्थ्यकर्मी रहेका छन् । यद्यपि फाजिलका स्वास्थ्यकर्मीले कोरोना महामारीको समयमा नगरबाट सेवा सुविधा दिने गरी भएको दोहोरो सम्झौतामा आएको बताउँदै आएका छन् । चालु आर्थिक वर्षमा संघ सरकारले फाजिलका स्वास्थ्यकर्मीका लागि तलब पठाउन बन्द गरेको छ भने नगरपालिकाले पनि तलब दिन नसकिने भन्दै पन्छिएको छ ।
गोदावरीमा हाल स्वीकृत दरबन्दी, फाजिल र करारका स्वास्थ्यकर्मी कार्यरत रहेका छन् । हाल करारका स्वास्थ्यकर्मीले नियमित तलब पाए पनि दरबन्दी र फाजिलकाले तलब पाएका छैनन् । करारका स्वास्थ्यकर्मीले नगरको आन्तरिक श्रोतबाट स्वास्थ्यकर्मीलाई नियमित तलब खुवाउन नगरपालिकाले आन्तरिक श्रोतबाट तलब खुवाएर श्रोत भर्ना गर्न सक्ने भए पनि त्यसका लागि बजेट अभाव रहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरी दत्त भट्टले बताए ।
उनले स्वास्थ्यका कर्मचारीलाई असोज यताको तलब खुवाउन मात्रै ४ करोड बढी रकम आवश्यक पर्ने भएकाले त्यसका लागि नगरबाटै पनि श्रोत भर्ना हुने गरी खुवाउन सकिन्छ या सकिँदैन भनेर कार्यपालिका बैठक बसेर छलफल गर्ने बताए ।



