

धरान : धरानकाे वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कार्डियोलोजी विभागका चिकित्सकको टिमले एक बिरामीको मुटु र फोक्सोको बीचमा रहने धमनीमा पुगेको प्लाष्टिकको पाइप चिरफार नै नगरी निकाल्न सफल भएका छन् ।
ठूलो आन्द्रामा क्यान्सर भएपछि आठौं पटकको किमोथेरापी गरिरहेका बेला ५२ वर्षीय कुमार तामाङको कुम नजिकैको नशामा राखिएको किमोपोर्टबाट चुँडिएर पाइपको टुक्रो रगतसँगै बग्दै मुटु र फोक्सो छेवैमा पुगेको थियो । उक्त करिब १० सेन्टिमिटर लामो पाइपलाई बिनाचिरफार चिकित्सकहरुले निकाल्न सफल भएका हुन् ।
गत मंगलबार तामाङको मुटुबाट फोक्सोमा जाने धमनीमा पुगेको किमो पाइप निकालिएको उपचारमा संलग्न चिकित्सकले बताए । चिकित्सकका अनुसार नेपालमा यो पहिलो घटना हो ।



