

कैलाली : कैलालीकाे धनगढीमा रहेकाे केजी हस्पिटलले साढे दुई लाखमा हर्नियाको शल्यक्रिया गर्ने भन्दै भर्ना गरेका बिरामीबाट ८ लाख असुल्न खोजेको पाइएको छ ।
अस्पतालका प्रमुख समेत रहेका डाक्टर दिपकबहादुर सिंहले साढे २ लाखमा शल्यक्रिया गर्ने आश्वासन दिएपछि जिल्लाकाे गौरीगंगा नगरपालिका–१ चनौराका ९० वर्षीय घरथरी चौधरीलाई अस्पताल भर्ना गरिएको थियो ।
तर, अहिले अस्पतालले ८ लाख बढीको बिल आएको भन्दै तिर्न दबाब दिइरहेको छ । चौधरीका छोरा सन्देशले हस्पिटलले दुई दिनदेखि बुबाको अवस्थाबारे समेत जानकारी नदिएको बताए । आफूले ४ लाख बुझासकेता पनि अहिले ४ लाख ७३ हजार थप लाग्छ भनेर बुवालाई भेट्न समेत नदिएकाे उनकाे आरोप छ ।
यो विषयमा अस्पतालका अध्यक्ष चेतराज जोशीले डाक्टरले सुरुमै शल्यक्रियामा साढे दुईदेखि तीन लाखसम्म खर्च लाग्ने भनेको कुरा सत्य भएको बताएका छन् । तर, शल्यक्रिया र औषधी उपचारका क्रममा बिल बढी भएको उनले दाबी गरे ।


