

काठमाडौं । आफ्नो उत्पादन गुणस्तरहीन नभएको दाबी गर्दै औषधि व्यवस्था विभागलाई दिएको जवाफमा औषधिको गुणस्तरमा थोक तथा खुद्रा विक्रेता, अस्पताल र स्वास्थ्य संस्थाको भण्डारण व्यवस्थातर्फ समेत प्रश्न उठाएपछि टाइम फर्मास्युटिकल्स लिमिटेड विवादमा परेको छ।
टाइम फर्मास्युटिकल्सले विभागलाई पठाएको पत्रमा आफ्नो उत्पादनको ‘ग्लिपिड–१’ गुणस्तरहीन नभएको दाबी गर्दै औषधि भण्डारणको अवस्थाले समेत गुणस्तरमा असर पार्न सक्ने संकेत गरेको थियो। कम्पनीको उक्त भनाइप्रति नेपाल औषधि व्यवसायी संघ (एनसीडीए)ले संस्थागत रूपमा आपत्ति जनाउँदै तत्काल सच्याएर फिर्ता लिन माग गरेको छ।
एनसीडीएका अध्यक्ष प्रकाशकुमार खण्डेलवाल र महासचिव श्रीधर खनालले हस्ताक्षर गरेको विज्ञप्तिमा कम्पनीले आफ्नो प्राविधिक कैफियतको दायित्वबाट पन्छिन खोज्दै थोक तथा खुद्रा औषधि व्यवसायीसँगै अस्पताल र स्वास्थ्य संस्थालाई दोषी देखाउन खोजेको आरोप लगाइएको छ।
औषधि व्यवस्था विभागले गत असोज १ गते बजार अनुगमनका क्रममा संकलन गरिएको टाइम फर्मास्युटिकल्सको ‘ग्लिपिड–१’ को ब्याच नम्बर जीएम–०७० को नमुना परीक्षण गर्दा तोकिएको ‘डिसोलुसन टेस्ट’ मा मापदण्डअनुसार नदेखिएको भन्दै बजारबाट फिर्ता गर्न कम्पनीलाई निर्देशन दिएको थियो।
विभागको निर्णयपछि टाइमले असोज ४ गते विभागलाई पत्र पठाउँदै आफ्नै प्रयोगशालामा सुरक्षित राखिएको ‘कन्ट्रोल नमुना’ पुनः परीक्षण गर्दा औषधिको गुणस्तर कायम रहेको दाबी गरेको थियो। कम्पनीले विभागमा यसअघि बुझाइएको उत्पादन मापदण्डअनुसार परीक्षण गर्दा समेत उक्त औषधि ‘डिसोलुसन फेल’ नभएको दाबी गर्दै बजारबाट औषधि फिर्ता गर्ने निर्णय पुनर्विचार गर्न आग्रह गरेको थियो।
कम्पनीले औषधिको गुणस्तरमा उत्पादनकै कारण समस्या नभएको दाबी गर्दै नेपालमा थोक तथा खुद्रा औषधि विक्रेता, अस्पताल र स्वास्थ्य संस्थाका औषधि भण्डारण कक्षहरू अन्तर्राष्ट्रिय मापदण्डअनुसार व्यवस्थित नभएको विषयसमेत उठाएको थियो। यही अभिव्यक्तिप्रति औषधि व्यवसायी संघले विरोध जनाएको हो।
एनसीडीएले कुनै तथ्यगत आधारबिना थोक तथा खुद्रा व्यवसायीलाई दोषको भागीदार बनाउने कम्पनीको दाबी भ्रामक रहेको जनाएको छ। संघले टाइम फर्मास्युटिकल्सलाई उक्त भनाइ तत्काल सच्याएर फिर्ता लिन माग गरेको छ।
संघले विभागको परीक्षण प्रतिवेदन र उत्पादक कम्पनीको दाबीबीच विरोधाभास देखिएको अवस्थामा वास्तविकता पत्ता लगाउन स्वतन्त्र प्रयोगशालाबाट वैज्ञानिक अनुसन्धान गर्नुपर्ने माग गरेको छ। औषधिको गुणस्तरमा समस्या देखिएको भए त्यसको कारण कच्चा पदार्थ, उत्पादन प्रविधि वा प्याकेजिङमध्ये के हो भन्ने यकिन गरी सार्वजनिक गर्नुपर्ने संघको भनाइ छ।
त्यस्तै, उत्पादनस्थलदेखि अन्तिम उपभोक्तासम्म औषधिको सुरक्षित ढुवानी र भण्डारणसहित गुणस्तर सुनिश्चित गर्ने प्राथमिक दायित्व उत्पादक कम्पनीकै हुने एनसीडीएले जनाएको छ।
औषधि फिर्ता अर्थात् ‘रिकल’ सम्बन्धी निर्णय गर्दा नियामक निकायले निष्पक्ष अनुसन्धान, सम्बन्धित पक्षसँग समन्वय तथा पारदर्शी संवादको प्रक्रिया अपनाउनुपर्ने संघको माग छ।
एनसीडीएले व्यावसायिक दायित्वबाट पन्छिएर एक–अर्कामाथि दोषारोपण गर्ने प्रवृत्तिको अन्त्य गर्नसमेत आग्रह गरेको छ। औषधिको गुणस्तरीय आपूर्ति व्यवस्थापनका लागि उत्पादक कम्पनी, नियामक निकाय, औषधि व्यवसायी, अस्पताल तथा स्वास्थ्य संस्थाबीच पारदर्शी सहकार्य र जिम्मेवार व्यवहार आवश्यक रहेको संघले जनाएको छ।
यस विषयमा औषधि व्यवस्था विभागले भने टाइम फर्मास्युटिकल्सको पछिल्लो पत्रमा औपचारिक धारणा सार्वजनिक गरिसकेको छैन। विभागको परीक्षण र कम्पनीको पुनः परीक्षणको नतिजा फरक देखिएपछि ‘ग्लिपिड–१’ को गुणस्तरबारे विवाद कायमै रहेको छ।




