

चितवन – मानवताका लागि रक्तदान अभियान अन्तर्गत नवलपुरको गैंडाकोटस्थित नारायणी किनारमा आयोजित घुम्ती रक्तदान कार्यक्रम सम्पन्न भएको छ। विश्व रक्तदाता संगठन, नवलपुरको आयोजना तथा सिएमसी रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा १ जना बङ्गलादेशी नागरिक र १ जना भारतीय नागरिकसहित कुल १५ जनाले रक्तदान गरेका छन्।
रक्तदान गर्नेहरूमध्ये अधिकांश नयाँ रक्तदाता रहेको सिएमसी रक्त सञ्चार केन्द्रका फिल्ड कोअर्डिनेटर निश्चल सापकोटाले जानकारी दिए। कार्यक्रममा विभिन्न क्षेत्रका युवाहरू तथा स्थानीयवासीको उत्साहजनक सहभागिता रहेको थियो।
आयोजकले रक्तदान जीवन बचाउने महान कार्य भएकाले स्वस्थ नागरिकलाई नियमित रूपमा रक्तदान गर्न आग्रह गरेको छ। यस्ता कार्यक्रमले बिरामीका लागि आवश्यक रगतको अभाव न्यूनीकरण गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।




