

काठमाडौं- शिशुका लागि आमाको दूध सबैभन्दा उत्तम र प्राकृतिक आहार हो। आमाको दूधले शिशुको रोगप्रतिरोधात्मक क्षमता बढाउनुका साथै शारीरिक तथा मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्छ। स्तनपानले आमाको स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने चिकित्सकहरू बताउँछन्।
विश्व स्तनपान सप्ताहको अवसरमा बीएण्डबी हस्पिटलले विभिन्न कार्यक्रम आयोजना गरी स्तनपानको महत्वबारे सचेतना फैलाएको छ। यसै अवसरमा बीएण्डबी हस्पिटलमा कार्यरत परामर्शदाता तथा बालरोग विशेषज्ञ डा. अन्वेष भट्ट र सिनियर परामर्शदाता तथा बालरोग विशेषज्ञ डा. संगीता शाक्यसँग स्तनपानको महत्व, आमाको दूधको उपयोगिता र स्तनपान गराउँदा देखिने समस्याबारे कुराकानी गरिएको छ।
डा. अन्वेष भट्टका अनुसार सुत्केरी भएपछि पहिलो तीन दिनसम्म आमाको दूध थोरै मात्रामा आउन सक्छ। तर त्यो दूध शिशुका लागि पर्याप्त हुने उनी बताउँछन्।
“सुत्केरी भएपछि पहिलो तीन दिनसम्म आमाको दूध थोरै मात्रामा आउँछ। तर त्यति थोरै दूधले पनि बच्चाको पेट भरिन्छ। दूध आएन भनेर आमाहरू आत्तिनु हुँदैन,” डा. भट्टले भने, “बच्चालाई चुसाइराखेमा दूध आउने हुन्छ। बच्चा रोयो भन्दैमा आमाको दूध पुगेन भनेर बुझ्नु हुँदैन।”
उनका अनुसार बच्चालाई पर्याप्त मात्रामा आमाको दूध पुगिरहेको छ कि छैन भन्ने कुरा बच्चाको तौल बढिरहेको छ कि छैन, पर्याप्त पिसाब गरिरहेको छ कि छैन भन्ने कुराबाट पनि बुझ्न सकिन्छ।
“बच्चा रोयो भन्दैमा दूध पुगेन भन्ने हुँदैन। बच्चाको तौल बढिरहेको छ, पिसाब राम्रोसँग भइरहेको छ भने सामान्यतया दूध पुगेको हुन्छ,” उनले भने।
आमाको दूध पर्याप्त मात्रामा आउनका लागि आमाले आफ्नो खानपानमा ध्यान दिनुपर्ने डा. भट्टको सुझाव छ।
“आमाले पर्याप्त मात्रामा पोषणयुक्त खानेकुरा खानुपर्छ। पानी तथा झोलिलो पदार्थ पर्याप्त खानुपर्छ। आमाको पोषण राम्रो भयो भने दूध उत्पादनमा पनि सहयोग पुग्छ,” उनले भने।
आमाको दूध खाने बच्चामा विभिन्न संक्रमणको जोखिमसमेत कम हुने उनी बताउँछन्।
“आमाको दूध खाने बच्चालाई निमोनिया, डाइरिया, कानको संक्रमणलगायत विभिन्न रोग लाग्ने सम्भावना कम हुन्छ। आमाको दूधले बच्चाको रोगप्रतिरोधात्मक क्षमता बढाउन महत्वपूर्ण भूमिका खेल्छ,” डा. भट्टले भने।
त्यस्तै, बीएण्डबी हस्पिटलमा कार्यरत सिनियर परामर्शदाता तथा बालरोग विशेषज्ञ डा. संगीता शाक्य आमाको दूध बच्चाका लागि मात्र नभई आमाका लागि पनि उत्तिकै महत्वपूर्ण रहेको बताउँछिन्।
“स्तनपान बच्चाका लागि मात्रै फाइदाजनक होइन, आमालाई पनि धेरै फाइदा हुन्छ। स्तनपान गराउने आमामा स्तन क्यान्सर हुने जोखिम कम हुन्छ। यसले आमाको स्वास्थ्य राम्रो राख्न पनि मद्दत गर्छ,” डा. शाक्यले भनिन्।
स्तनपानले आमाको तौल व्यवस्थापनमा समेत सहयोग गर्ने उनको भनाइ छ।
“बच्चालाई दूध खुवाउँदा आमाको शरीरमा पनि सकारात्मक प्रभाव पर्छ। सुत्केरीपछि तौल बढ्ने समस्या कम गर्न पनि स्तनपानले सहयोग गर्छ,” उनले भनिन्।
तर स्तनपान गराउने क्रममा आमाहरूले विभिन्न व्यावहारिक समस्या र जिज्ञासा राख्ने गरेको डा. शाक्य बताउँछिन्। कतिपय आमाले स्तनपान गराउँदा आफूलाई टिकटक हेर्नसमेत समय नपाएको गुनासो गर्ने गरेको उनको अनुभव छ।
“स्तनपान गराउँदा टिकटक हेर्न समय नपाएको गुनासो पनि आएको थियो। यस्तो जिज्ञासा आएर हामी पनि अचम्मित परेका थियौँ,” डा. शाक्यले भनिन्, “तर प्रत्यक्ष स्तनपान गराउन सम्भव नभएको अवस्थामा आमाको दूध निकालेर स्टोर गरेर राख्न सकिन्छ।”
उनका अनुसार आमाको दूधलाई उचित तरिकाले भण्डारण गरेर आवश्यक परेको समयमा बच्चालाई खुवाउन सकिन्छ।
“२० देखि ३० डिग्रीसम्मको तापक्रममा राख्दा आमाको दूध २४ घण्टासम्म प्रयोग गर्न सकिन्छ। तर त्यसलाई सिधै तताउन मिल्दैन। तातोपानीमा राखेर भने तताउन सकिन्छ,” उनले भनिन्।
“फ्रिजमा २ देखि ८ डिग्रीसम्म राखिएको दूध तीनदेखि चार दिनसम्म स्टोर गरेर राख्न सकिन्छ,” डा. शाक्यले बताइन्।
चिकित्सकहरूका अनुसार सुत्केरी भएपछि आउने बिगौती दूध पनि शिशुका लागि निकै महत्वपूर्ण हुन्छ। त्यसैले जन्मिएपछि सकेसम्म छिटो स्तनपान सुरु गर्नुपर्छ।
डा. भट्टका अनुसार बच्चाले दूध चुस्ने क्रमलाई निरन्तरता दिनु महत्वपूर्ण हुन्छ।
“पहिलो केही दिन दूध थोरै आउँछ भनेर बच्चालाई फर्मुला वा अन्य कुरा दिन हतार गर्नु हुँदैन। बच्चालाई बारम्बार आमाको स्तन चुसाउनुपर्छ। बच्चाले जति चुस्छ, दूध उत्पादन पनि त्यहीअनुसार बढ्दै जान्छ,” उनले भने।
स्तनपानले बच्चालाई पोषण दिनुका साथै आमा र बच्चाबीचको भावनात्मक सम्बन्धसमेत बलियो बनाउने चिकित्सकहरूको भनाइ छ।
स्तनपानका क्रममा निप्पल दुख्ने, घाउ हुने वा स्तनमा दूध जमेर गाँठो आउने समस्या देखिए पनि त्यसकै कारण स्तनपान रोक्न नहुने उनीहरूको सुझाव छ। यस्तो अवस्थामा स्तनपान गराउने तरिका परिवर्तन गर्ने र समस्या निरन्तर रहे स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्ने उनीहरू बताउँछन्।
चिकित्सकहरूले जन्मिएको पहिलो ६ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउन र त्यसपछि थप आहारसँगै दुई वर्षसम्म वा बच्चाले आमाको दूध चुस्ने अवधिसम्म स्तनपानलाई निरन्तरता दिन सुझाव दिएका छन्।
आमालाई स्तनपान गराउन परिवारले पनि सहयोग गर्नुपर्ने डा. भट्ट र डा. शाक्यको भनाइ छ।
“स्तनपान आमाको मात्रै जिम्मेवारी होइन। आमालाई आराम गर्ने वातावरण, राम्रो खाना र मानसिक रूपमा सहज वातावरण परिवारले दिनुपर्छ। आमा स्वस्थ र खुसी भइन् भने बच्चालाई पनि राम्रोसँग स्तनपान गराउन सकिन्छ,” डा. शाक्यले भने।



